छपकैया नेपाली समाजद्वारा श्रीसंसारी माई मन्दिरलाई पंखा हस्तान्तरण
अभिलाष गुप्ता
बिरगंज, भदौ ७
छपकैया नेपाली समाजले वीरगञ्ज महानगरपालिका–२ स्थित श्रीसंसारी माई मन्दिरलाई चार थान सिलिङ पंखा हस्तान्तरण गरेको छ।
शनिबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष धिरज शर्माले मन्दिर सञ्चालक समिति अध्यक्ष प्रदीप राउत कुर्मी र पुजारीलाई संयुक्त रूपमा पंखा हस्तान्तरण गरे। लामो समयदेखि मन्दिरमा रहेका पुराना पंखा जिर्ण भई नचल्दा भक्तजनलाई पूजा–पाठ तथा भजन–कीर्तनमा कठिनाइ हुँदै आएको र आगामी तीज–पञ्चमी पर्वलाई लक्षित गरी सहज वातावरण बनाउन समाजले सहयोग गरेको समाजका सचिव अजित भुजेलले जानकारी दिए।
सो अवसरमा समाजका सचिव अजित भुजेल, सदस्य प्रकाश शाह, कृष्ण कार्की, शम्भु थापा, विजय पौडेल, मन्दिर सञ्चालक समिति सदस्य शन्नी गुप्ता तथा पुजारीको उपस्थिती रहेको थियो।
कार्यक्रममा अध्यक्ष शर्माले छपकैया नेपाली समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ, स्वास्थ्य शिविर, रक्तदान, चाडपर्वमा प्रसाद वितरण, चिसो मौसममा न्यानो कपडा तथा कम्बल वितरणजस्ता कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सहयोग, सहकार्य र बिसङ्गती विरुद्ध हातेमालो गर्दै अघि बढ्ने समाजको प्रतिबद्धता दोहोर्याए।









