नेपाल जनता पार्टी नेजपाले आज बहुदरमाई नगरपालिका–८, रामनगरीमा हिन्दू राष्ट्र स्थापनाका लागि जागरण भेला एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै नेजपाका केन्द्रीय वरिष्ठ नेता सन्तोष पटेलले धर्मनिरपेक्षताको नाममा हिन्दू समाजमाथि मात्र दमन, शोषण र अत्याचार भइरहेको आरोप लगाए। उनले भने, “धर्म बेचुवा दलहरुलाई अब तह लगाउनु पर्ने बेला आएको छ। हाम्रो भूमि विदेशीहरुको प्रयोगशाला बन्न पुगेको छ। अब नेपाली जनतासामू प्रश्न खडा भएको छ—धर्म रक्षा गर्ने पक्षमा उभिने कि धर्म बेचुवा दलको पछि लाग्ने?”
उनले जिहाद, गौ हत्या, धर्म परिवर्तनजस्ता विषयलाई समाजका लागि क्यान्सरभन्दा खतरनाक भएको उल्लेख गर्दै हिन्दू राष्ट्रले मात्र सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने सेतुको काम गर्ने धारणा राखे। पटेलले थपे, “सच्चा नेपालीले हिन्दू राष्ट्रको विरोध गर्दैन, विदेशी एजेन्टहरुले मात्र विरोध गर्छन्। हिन्दू राष्ट्रका लागि काम गर्ने जो कोहीलाई कसैले आँखा देखाउने प्रयास गरे, त्यसलाई हामी तह लगाउनेछौं।”
कार्यक्रममा नेजपाका केन्द्रीय सदस्य अधिवक्ता विनोद कुर्मी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, महामन्त्री नवीन मिश्र, कोषाध्यक्ष राजेश साह कलवार, सह–कोषाध्यक्ष सन्तोष कुशवाहा, जिल्ला कार्य समिति सदस्यहरु सुमन्त कुमार दीप, मुना साह तेली, श्रीदेवी साह, बहुदरमाई नगर समितिका मन्त्री धर्मेन्द्र साह, कोषाध्यक्ष राजेश साह, नगर सदस्यहरु कृष्णा साह, शिवजी कलवारसहित स्थानीय हिन्दूवादी अगुवाहरुको उपस्थिति रहेको थियो।
यसै अवसरमा बहुदरमाई नगरपालिकामा युवा मोर्चा, महिला मोर्चा र विद्यार्थी परिषद गठन गर्नेबारे विस्तृत छलफल गर्दै आगामी कार्यक्रमको रूपरेखा समेत तय गरिएको थियो।









