पर्साको बहुदरमाई नगरपालिका–४, डोकैला चोकमा बहुदरमाई युवा समाजद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा एक महिला सहित ५२ जनाले स्वेच्छिक रक्तदान गरेका छन्।
समारोहका प्रमुख अतिथि प्रदेश सांसद श्याम पटेलले आफ्नो रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरे। उनले रक्तदानलाई जीवनदानको महान कार्य भन्दै नियमित रूपमा यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताए। उनले भने, “रक्तदानले मात्र ज्यान जोगाउँछ भन्ने होइन, यसले समाजमा मानवता, सहयोग र एकताको सन्देश फैलाउँछ।”
विशिष्ट अतिथि प्रहरी उपरीक्षक गौतम मिश्र, पूर्व नगर प्रमुख नितेन्द्र साह लगायत दर्जनौँ सामाजिक अगुवाहरूले कार्यक्रममा सहभागिता जनाए। कार्यक्रममा बहुदरमाई युवा समाजका अध्यक्ष हरिनारायण तिवारी (उर्फ राकेश तिवारी), उपाध्यक्ष सुरेन्द्र प्रजापति, सचिव सुबाष प्रजापति, कोषाध्यक्ष शिवशंकर ठाकुर (उर्फ विशाल ठाकुर) सहित स्थानीय बुद्धिजीवी, सामाजिक कार्यकर्ता र युवा उपस्थित थिए।
कुल ५२ जना रक्तदातामध्ये एक जना महिला दात्री काजल साह थिइन्। उनका साथै चन्दन यादव, प्रेम शाह, कृष्ण कुशवाहा, सुबाष प्रजापति लगायत युवाहरूले अमूल्य योगदान दिए। आयोजकले उनीहरूलाई विशेष धन्यवाद दिँदै रक्तदानलाई निरन्तर अभियानका रूपमा अघि बढाउने प्रतिवद्धता जनाए।
बहुदरमाई युवा समाजले विगतदेखि नै सामाजिक गतिविधिमा सक्रिय भूमिका खेलेको बताउँदै अध्यक्ष तिवारीले भने, “युवाहरूको सक्रियताले मात्र समाज परिवर्तन सम्भव हुन्छ। रक्तदानजस्ता अभियानले आपसी सहयोग र मानवता बलियो बनाउँछ।”
कार्यक्रमको संचालन विशाल ठाकुरले गरेका थिए भने शुभकामना मन्तव्य सचिव सुबाष प्रजापतिले दिएका थिए। कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।समाजले स्वास्थ्य शिविर, सरसफाइ अभियान, शिक्षा सहयोग तथा रक्तदान अभियानलाई निरन्तरता दिने जानकारी दिएको छ। स्थानीयले पनि यस्ता कार्यले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्ने बताए।









