महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आज वीरगञ्जस्थित भगवती युवा क्लबले आयोजना गरेको भव्य दर खाने कार्यक्रम विविध रंगारंग प्रस्तुति सहित सम्पन्न भएको छ।

क्लबका अध्यक्ष सुमित पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो। कार्यक्रममा टोल सुधार समिति का सचिव श्याम के.सीले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा वडा अध्यक्ष जगत साह कानु, मनकामना स्कुलका प्रिन्सिपल पुरन प्रधान, वडा सदस्य शर्मा गोसाई, समाजसेवी नगिया देवी, शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा रेडक्रस पर्साका सदस्य मुना खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सांस्कृतिक वातावरणमा सम्पन्न दर खाने कार्यक्रममा महिला दिदीबहिनीहरूको व्यापक सहभागिता रहेको थियो। उपस्थित महिलाहरूले नाचगान, गीतसंगीत र मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई पुरस्कारको व्यवस्था समेत गरिएको थियो।
क्लबका युवाहरूको सक्रिय पहलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न परिकारका पकवान बनाएर सहभागीलाई दर खुवाउने परम्परा अनुसार भोजनको व्यवस्था गरिएको थियो।
सो अवसरमा टोल सुधार समितिका अध्यक्ष विपत गोसाई, कोषाध्यक्ष पवन श्रेष्ठ, समाजसेवी कंचन झा, राजु गुप्ता लगायत स्थानीय सामाजिक अभियन्ता र समुदायजनको उल्लेखनीय उपस्थिति रहेको थियो।









