२०८२ चैत्र ७ गते शनिबार

वीरगञ्जमा ‘सेल्फ डिफेन्स युएसी अनुशिक्षण तालिम’ सम्पन्न

 

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा वीरगञ्ज तेक्वान्डो डोजाङ्गको विशेष सहयोगमा सञ्चालन भएको ‘सेल्फ डिफेन्स युएसी अनुशिक्षण तालिम’ आज विशेष समारोहबीच सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।

यो तालिम साउन २८ गतेदेखि सुरु भई भदौ ८ गतेसम्म सञ्चालन गरिएको थियो।तालिममा नं.१३ गण हे.क्वाबाट ५ महिला र ५ पुरुष गरी १० जना तथा मातहत युनिटहरूबाट ५ महिला र २० पुरुष गरी २५ जना, यसरी कुल ३५ जना (१० महिला सहित) सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी भएका थिए।

तालिमलाई सफल बनाउन वीरगञ्ज तेक्वान्डो डोजाङ्गका प्रमुख प्रशिक्षक ४ ड्यान ब्ल्याक बेल्ट एशियन प्लेयर महमद वेशसहित ९ जना प्रशिक्षकहरूको सक्रियता रहेको थियो। प्रशिक्षकहरूमा २थ ड्यान ब्ल्याक बेल्ट प्रथम बर्णवाल, ईमरान शेख, रोशन पटेल, सुजित यादव, राजन गुप्ता, हिमानी गुप्ता, नेहा झा, सन्तोष कुमार रौनियार लगायतको उल्लेखनीय उपस्थिति थियो।

समापन समारोहमा बोल्ने वक्ताहरूले आत्मरक्षा तालिमको आवश्यकता र महत्वलाई जोड दिए।उनका अनुसार “सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको कार्य दक्षता र आकस्मिक परिस्थिति व्यवस्थापन क्षमतामा वृद्धि गर्न आत्मरक्षा तालिम अपरिहार्य छ। आत्मरक्षा भन्नाले केवल तत्काल आक्रमणको प्रतिकार मात्र होइन, सम्भावित आक्रमणलाई पनि विफल पार्ने क्षमता हो। यसले सुरक्षाकर्मीलाई सुरक्षित रहँदै अनावश्यक आक्रमणलाई निस्तेज पार्न मद्दत पुर्‍याउँछ।”

त्यस्तै, आत्मरक्षालाई केवल तत्काल घटनास्थलमै सीमित गर्ने मानसिकता र कानुनी दृष्टिकोण अपूरो र अवैज्ञानिक भएको भन्दै, सम्भावित खतराबाट जोगिन र सुरक्षाकर्मीलाई सजग राख्न यस्तो सीप अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरियो।

सशस्त्र प्रहरी बल पर्साद्वारा आत्मरक्षा तालिमलाई निरन्तरता दिँदै जाने जानकारी दिइएको छ। तालिमले सुरक्षाकर्मीहरूलाई अधिक दक्ष, आत्मविश्वासी र जिम्मेवार बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM