२०८२ चैत्र ६ गते शुक्रबार

बिरगंज रक्सौल मितेरी पुलबाट मानव तस्करी प्रयास असफल, युवतीको उद्धार

 

बिरगंज रक्सौल मितेरी पुलबाट एक युवकले बुर्का लगाएकी युवतीलाई नेपालतर्फ लैजाँदै गरेको अवस्थामा शंका लागेर मानव तस्करी विरोधी इकाई तथा एसएसबी टोलीले रोकेर सोधपुछ गर्दा घटना बाहिर आएको हो।

पक्राउ परेका व्यक्तिको नाम मो. जहाङ्गिर आलम हो, जो पूर्वी चम्पारण निवासी हुन्। उनले सीतामढीकी बस्ने (नाम परिवर्तन) सोनी कुमारीलाई सामाजिक सञ्जालमार्फत प्रेमजालमा पारेर नेपालतर्फ लैजाँदै गरेका थिए।

मानव तस्करी विरोधी इकाई, प्रयास जुभेनाइल एड सेन्टर पूर्वी चम्पारण तथा स्वच्छ रक्सौल संस्थाकी महिला टोलीले युवतीको काउन्सिलिङ गर्दा थाहा भयो कि जहाङ्गिरले युवतीलाई परिवारलाई जानकारी नदिई घरबाट बोलाएर आफ्ना आफन्तको घरमा चार दिनसम्म राखेका थिए। त्यसपछि उनले नयाँ तरिका अपनाउँदै हिन्दु युवतीलाई बुर्का लगाएर नेपालतर्फ लैजाँदै गर्दा पक्राउ परेका हुन्। बुर्का लगाउँदा असहज महसुस भएको र बारम्बार बुर्का मिलाइरहेको देखेर शंका उत्पन्न भई सोधपुछ गरिएको थियो।

युवतीले बयान दिँदै भनिन्, “नेपाल पुगेर विवाह गर्ने र त्यहाँ रोजगार गर्ने योजना बनाइएको थियो। जहाङ्गिरले विवाहको प्रलोभन देखाई पटक–पटक शारीरिक शोषण समेत गरेका छन्। २१ अगस्टमा योजनाबद्ध ढंगले मलाई घरबाट भगाएर चार दिनसम्म बेतियामा राखे र आज बुर्का लगाएर नेपाल लैजाँदै थिए।”

जब टोलीले परिवारसँग सम्पर्क गर्‍यो, सीतामढीको पुनौरा प्रहरी चौकीमा अपहरण सम्बन्धी उजुरी दर्ता भइसकेको थाहा भयो। सो उजुरी प्राथमिकी नं. १८९/२५ मिति २६/०८/२५ मा दर्ता भएको पुष्टि भएको छ।

उद्धार अभियानमा मानव तस्करी विरोधी इकाई एसएसबीका प्रभारी विकास कुमार, हवल्दार अरविन्द द्विवेदी, महिला प्रहरी नीतु कुमारी, प्रियंका नायक, कामनी कुमारी तथा कविता करोपी, प्रयास जुभेनाइल एड सेन्टर पूर्वी चम्पारणकी जिल्ला परियोजना समन्वयक आरती कुमारी, राज गुप्ता तथा स्वच्छ रक्सौल संस्थाबाट रणजीत सिंह र सब्र खातुन उपस्थित थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM