२०८२ चैत्र ६ गते शुक्रबार

नेपाल पत्रकार महासंघले ७२ घण्टे अल्टिमेटम अनलाइन संचारमाध्यम दर्ता र नवीकरण तत्काल खोल्न माग

 

नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको प्रक्रिया तत्काल खोल्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ।

महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी ज्ञापनपत्र बुझाएको हो। महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा हाल अवरुद्ध रहेको अनलाइन दर्ता र नवीकरण प्रक्रिया तुरुन्त सुचारु नभए महासंघ आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री गुरुङले अनलाइन संचारमाध्यमलाई परेको असहजता अन्त्य गर्न संक्रमणकालीन व्यवस्था गर्ने आश्वासन दिए। उनले चाँडै नयाँ नियमावली ल्याएर दर्ता र नवीकरण सहज बनाइने समेत जानकारी गराए। मन्त्रालयकी सचिव राधिका अर्यालले पनि संचारमाध्यमको दर्ता र नवीकरणलाई सहज बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन्।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमार्फत गर्ने व्यवस्था भएपनि हालसम्म स्पष्ट कार्यविधि नआएकाले देशभर अनलाइन सञ्चारमाध्यम दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध भएको महासंघको आरोप छ।

ज्ञापनपत्र बुझाउन महासंघकी उपाध्यक्ष उमिद बागचन्द, सचिव सोनी शर्मा, सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्यहरू रामेश्वर कार्की, उर्जुन पन्त, मनुका कुवँर, पवित्रा मुडभरी, राजकरण महतो, भुपराज बस्याल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM