२०८२ चैत्र ६ गते शुक्रबार

गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता : संघीय शिक्षा ऐनको विवादास्पद प्रावधान विरुद्ध वीरगन्जमा बृहत विरोध र्‍याली

 

संघीय शिक्षा ऐनमा निजी विद्यालयहरू बन्द गर्ने गरी ल्याउन लागिएको प्रावधानविरुद्ध बिहिवार मधेश प्रदेशभर निजी विद्यालय सञ्चालकहरूले बृहत विरोध र्‍याली गरेका छन्।

प्याब्सन (PABSON), नेशनल प्याब्सन (NPABSON), हिसान (HISSAN), अपेन (APEN) लगायतका निजी तथा आवासीय विद्यालय सञ्चालक संगठनहरूको संयुक्त आयोजनामा वीरगन्जमा जिल्ला व्यापी प्रदर्शन गरिएको हो।

र्‍याली पुरानो बसपार्कबाट सुरु भई शहरका विभिन्न मार्ग परिक्रमा गर्दै शिक्षाको दिगोपन र निजी विद्यालयहरूको अस्तित्व सुनिश्चित गर्नुपर्ने मागसहित कोण सभामा परिणत भएको थियो।

कार्यक्रमको संयोजन प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले गरेका थिए।यस अवसरमा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, वरिष्ठ उपाध्यक्ष सुशिला साह, एन–प्याब्सनका सल्लाहकार प्रेम यादव, हिसान पर्साका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन मधेश प्रदेश उपाध्यक्ष पुरन प्रधान, सल्लाहकार इमामुद्दिन अहमद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, संस्थापक सदस्य लालबाबु पटेल, एन–प्याब्सन बीरगन्ज अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहर लगायतका व्यक्तित्वहरूको सक्रिय उपस्थिति रहेको थियो।

आन्दोलनकारी निजी विद्यालय सञ्चालकहरूले संघीय सरकारले ल्याउन लागेको शिक्षा विधेयकका प्रावधानले निजी विद्यालयहरूको अस्तित्व संकटमा पार्ने भन्दै तत्काल संशोधन गर्नुपर्ने माग दोहोर्याए।उनीहरूले विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारीको हक अधिकार, पाठ्यक्रम व्यवस्थापन र शैक्षिक गुणस्तरलाई सुनिश्चित गर्ने गरी विधेयक पुनर्लेखन गर्न सरकारलाई आग्रह गरे।

यसअघि पनि निजी विद्यालय सञ्चालकहरूले जिल्ला प्रशासनदेखि प्रदेश र संघीय राजधानीसम्म श्रृंखलाबद्ध विरोध कार्यक्रम गरिसकेका छन्।सञ्चालकहरूले मागअनुसार विधेयकमा संशोधन नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिएका छन्।आन्दोलनका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका निजी विद्यालयहरूको पठन–पाठन प्रभावित भएको छ।

र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो।सभामा विभिन्न वक्ताहरूले मन्तव्य राख्दै सरकारलाई चेतावनी दिएका थिए।अन्त्यमा, आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ बाबुलाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM