२०८२ चैत्र ६ गते शुक्रबार

बीरगंज जेसीज अध्यक्ष जेसी सरोज चौरसिया एसिया प्यासिफिक विकास परिषदको बैठकका लागि ताइवान प्रस्थान

 

बीरगंज जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सरोज चौरसिया एसिया प्यासिफिक विकास परिषद (Asia Pacific Development Council) को बैठकमा सहभागी हुन शुक्रबार ताइवान प्रस्थान गरेका छन्।

चौरसिया हालै सो परिषदको डेभलपमेन्ट अफिसर मा नियुक्त भएका हुन्। नेपाल जेसीजको सिफारिसमा उनी वर्ष २०२५–२६ का लागि कार्यसमितिमा चयन भएका हुन्। जेसिआइ वर्ल्ड अन्तर्गत एसिया प्यासिफिक क्षेत्रमा रहेका मुलुकहरूको साझा संस्था नै एसिया प्यासिफिक विकास परिषद हो।

यस परिषदको अध्यक्षता हाल मङ्गोलियाका जेसीज अभियन्ताले गरिरहेका छन् भने सचिवालय जेसीआइ जापान अन्तर्गत रहेको छ। परिषदका विभिन्न उपसमूहहरुमध्ये चौरसिया म्यान्मार–श्रीलंका समूहमा रहेका छन्। पहिलो चरणमा परिषद्ले आफ्ना सदस्यहरूलाई जेसिआइ अभियानलाई सबल बनाउने र शाखा विस्तार गर्ने उद्देश्यले तालिम तथा निर्देशन दिनेछ। त्यसपछि उपसमूहका टोलीहरूले विभिन्न एसियाली मुलुकमा गई स्थानीय जेसीज शाखाका सदस्यलाई तालिम दिने र नयाँ शाखा स्थापना गर्न प्रेरित गर्ने योजना रहेको छ।

यसअघि प्रायः राष्ट्रिय पदाधिकारीहरू मात्र परिषदमा मनोनित हुने गरेका थिए भने नेपालमा पहिलो पटक कुनै शाखा अध्यक्ष सो पदमा चयन भएका हुन्। अझै बीरगंज जेसीजको ५२ वर्षको इतिहासमा अन्तर्राष्ट्रिय तहको पदमा मनोनित हुने चौरसिया नै पहिलो व्यक्ति बनेका छन्।

बीरगंज जेसीजका संस्थापक पशुपति विक्रम शाह, पूर्वअध्यक्ष प्रा. डा. दीपक शाक्य, मोहन प्रधान, मधु राणा, निशान्त कुमार लामिछाने, सन्तोष खनाल, शेखर चौधरी, रञ्जन राउत, डा. अर्बिन्द श्रेष्ठ लगायतका पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिले चौरसियालाई अन्तर्राष्ट्रिय पदमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै उनको सफलताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

वर्ष २०२६ को अन्त्यसम्म अध्यक्ष चौरसिया ताइवान, टुनिसिया, मलेसिया, जापान, म्यान्मार, श्रीलंका लगायतका मुलुकहरूको भ्रमणमा रहने कार्यक्रम रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM