२०८२ चैत्र ६ गते शुक्रबार

नाडा अटोमोबाइल्स मधेश प्रदेशको तेस्रो साधारण सभा सम्पन्न, राहुल अग्रवाल अध्यक्षमा निर्वाचित

 

नाडा अटोमोबाइल एशोसियसन अफ नेपाल, मधेश प्रदेशको तेस्रो साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रम शुक्रबार वीरगञ्जस्थित कर्लाक होटलमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नाडाका केन्द्रीय अध्यक्ष करण चौधरी रहेका थिए। उनले नाडाले छोटो समयमा अन्तर्राष्ट्रिय ख्याति कमाएको उल्लेख गर्दै छिट्टै महासंघको रूप लिने जानकारी दिए। उनले खुला सिमानाका कारण हुने अवैध पार्टपुर्जाको व्यापार नियन्त्रणका लागि सुरक्षा निकायलाई सक्रिय हुन आग्रह गर्दै नाडालाई अझ सशक्त बनाउन सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको बताए।

निर्वाचन प्रमुखको उपस्थितिमा राहुल अग्रवालको अध्यक्षतामा २२ सदस्यीय नाडा मधेश प्रदेश कार्यसमितिले शपथग्रहण गरेको हो।नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष राहुल अग्रवाल,उपाध्यक्षहरू केदार अग्रवाल, विवेक अग्रवाल, सन्तोष जयसवाल, बिकाश ठाकुर, किसोर भट्टराई,सचिव अभिषेक चौधरी,सहसचिव मुरारी रौनियार,कोषाध्यक्ष दिपेन्द्र खेतान,सह–कोषाध्यक्ष बिरेन्द्र रौनियार,पीआर अफिसर राजु गुप्ता मिडिया कोअर्डिनेटर सन्दीप अग्रवालअन्य सदस्यहरूलाई समेत फुलमालासहित स्वागत गरिएको थियो।

शपथपछि अध्यक्ष राहुल अग्रवालले दुई वर्षे कार्यकालमा मधेश प्रदेश कमिटीलाई नेपालकै नमुना समिति बनाउने दाबी गर्दै पारदर्शी सहकार्य, कर प्रणाली सुधार, विद्युतीय सवारीसाधनको प्रोत्साहन, बैंकिङ तथा बीमा क्षेत्रसँग सहकार्य गर्ने योजना सार्वजनिक गरे।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरी गौतम, नाडा चितवन अध्यक्ष कुलबहादुर रानाभाट, नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठलगायत अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी सहायक निरीक्षक अजित भण्डारी, ट्राफिक कार्यालय धुषाका हवलदार रामबाबु साह र राजमार्ग सुरक्षा कार्यालय पथलैयाकी प्रहरी जवान हस्तकुमारी बि.क. लाई नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योगी गणेश लाठ, प्रहरी उपरीक्षक गौतम मिश्रलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM