नेपाल प्रहरीले सञ्चालन गर्दै आएको “कार्यदक्षता मुल्यांकन (Police Baton) २०८२” अन्तर्गत शनिबार वीरगञ्ज वडा नम्बर ४ स्थित वडा प्रहरी कार्यालय विर्तामा विशेष निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

आज सम्पन्न कार्यक्रममा प्रहरी प्रधान कार्यालयबाट आएको निरीक्षण तथा अनुगमन टोलीले प्रहरी कार्यदक्षता, संगठनात्मक संरचना, सेवाप्रवाह र जनसम्पर्कको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्दै मूल्यांकन गरेको हो।
उक्त टोलीको नेतृत्व प्रहरी प्रधान कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (ए.आई.जी.) मनोज कुमार केसिले गर्नुभएको थियो। उहाँले कार्यालय परिसर तथा सम्पूर्ण व्यवस्थापन निरीक्षण गर्दै प्रहरी संगठनलाई अझ सक्षम, जनमुखी र अनुशासित बनाउन निरन्तर अभ्यास र तालिम आवश्यक रहेकोमा जोड दिनुभयो।

निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसहित विभिन्न प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले कार्यालयमा भइरहेको गतिविधि, प्रहरी सेवाप्रवाह र चुनौतीबारे टोलीलाई जानकारी गराउनुभयो।
ए.आई.जी. केसिले निरीक्षणपछि संक्षिप्त मन्तव्य दिंदै, “प्रहरी संगठनको मूल आधार नै कार्यदक्षता र अनुशासन हो। यस किसिमको मुल्यांकन अभ्यासले संगठनलाई अझै परिणाममुखी र प्रभावकारी बनाउन मद्दत गर्नेछ,” भन्नुभयो।

उक्त निरीक्षणले प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न, आन्तरिक संरचना सुदृढ बनाउन र प्रहरीलाई थप उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
नेपाल प्रहरीले “Police Baton २०८२” कार्यक्रम देशभरका विभिन्न जिल्ला र इकाइमा चरणबद्ध रूपमा सञ्चालन गरिरहेको जनाएको छ।










