२०८२ चैत्र ६ गते शुक्रबार

कलैयामा रहेको मनकामना स्कुलमा आँखा शिबिर सम्पन्न

 

कलैया–२, बारामा अवस्थित मनकामना स्कुलमा किरण आँखा अस्पतालको सहयोगमा एकदिने निःशुल्क आँखा स्वास्थ्य शिबिर सम्पन्न गरिएको छ।

शिबिरमा विद्यालयमा अध्ययनरत ७५६ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो। परिक्षणपछि ३६ जना विद्यार्थीमा विभिन्न सामान्य प्रकारका समस्या पाइएको अस्पतालका सञ्चालक तथा नेत्र रोग विशेषज्ञ डा. अमर कयालले जानकारी दिनुभयो। उहाँका अनुसार यी समस्या समयमै उपचार गरिए पूर्ण रूपमा नियन्त्रणमा आउन सक्ने खालका रहेका छन्।

विद्यालयका प्राचार्यले यस शिबिरमार्फत विद्यार्थीहरूले ठूलो लाभ पाएको प्रतिक्रिया व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सामान्यतया आँखामा समस्या देखिएपछि मात्र अभिभावकले बच्चालाई अस्पताल लैजाने चलन छ। तर यस्तो शिबिरले समस्या प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्दछ र स्वास्थ्य सचेतना बढाउँछ।”

डा. कयालले आँखा सम्बन्धी समस्याहरूलाई बेवास्ता नगरी नियमित परीक्षणमा जोड दिनु आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीहरूमा दृष्टि कमजोरी, एलर्जी, आँखाको सामान्य संक्रमणजस्ता समस्या बढी देखिने गरेको छ।

विद्यालय प्रशासनले आगामी दिनमा पनि यस प्रकारका स्वास्थ्यमूलक कार्यक्रमहरूलाई निरन्तरता दिन सकिने जनाएको छ। साथै, अभिभावकहरूलाई आफ्ना बच्चाको स्वास्थ्य परीक्षणमा ध्यान दिन आग्रह गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM