वीरगञ्जस्थित मधेस विश्वविद्यालयले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा आइतबार विश्वविद्यालय प्राङ्गणमै नि:शुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको छ। विश्वविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित २ सयभन्दा बढी व्यक्तिहरू शिविरमार्फत लाभान्वित भएको विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले जानकारी दिनुभयो।
रजिस्ट्रार यादवका अनुसार वार्षिकोत्सवको अवसर पारेर विश्वविद्यालयले विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमको श्रृङ्खला सञ्चालन गरिरहेको छ। सो श्रृङ्खलाअन्तर्गत पहिलो दिन नि:शुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरसहित सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। “हाम्रो उद्देश्य शिक्षामात्र होइन, स्वास्थ्य र सरसफाइमा समेत समुदायलाई सहयोग पु-याउनु हो,” उहाँले भन्नुभयो।
शिविरमा वीरगञ्ज डेन्टल क्लिनिक तथा इम्प्लान्ट सेन्टरका दन्त रोग विशेषज्ञ डा. रेयाजुल हकको नेतृत्वमा ७० जनाभन्दा बढी विद्यार्थीहरूको दन्त परीक्षण गरिएको थियो। परीक्षणका क्रममा विद्यार्थीहरूमा सामान्यदेखि जटिल दन्तसम्बन्धी समस्या पाइएको र आवश्यक परामर्शका साथै गम्भीर समस्या भएका विद्यार्थीहरूलाई थप उपचारका लागि क्लिनिकमा बोलाइएको डा. हकले जानकारी दिनुभयो।
त्यस्तै, किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको आँखा शिविरमा १५० जनाभन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले सेवा लिएका थिए। अस्पतालकी प्राविधिक कविता पोख्रेलका अनुसार सहभागीहरूले आँखा परीक्षणसँगै आवश्यक सल्लाह–सुझाव प्राप्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा विश्वविद्यालयका सिनेट सदस्य डा. सुबोध कुमार गुप्ता हुनुहुन्थ्यो। उहाँले विश्वविद्यालयको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै यस्ता शिविरहरूले स्थानीय समुदायमा प्रत्यक्ष लाभ पुर्याउने धारणा व्यक्त गर्नुभयो।
वार्षिकोत्सवअन्तर्गत विश्वविद्यालयले आगामी दिनमा अन्य स्वास्थ्य र सामाजिक कार्यक्रमहरू पनि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।









