२०८२ चैत्र ६ गते शुक्रबार

भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण : नेपालबाट सम्पूर्ण अवलोकन सम्भव

काठमाडौं
भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार चन्द्रग्रहण आज राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा समाप्त हुनेछ।

समितिले दिएको विवरणअनुसार राति १०:११ मा ग्रहण स्पर्श, ११:१५ मा सम्मीलन, ११:५६ मा मध्य, १२:३८ मा उन्मिलन र १:४१ मा मोक्ष हुनेछ। खगोलशास्त्री प्राडा जयन्त आचार्यका अनुसार नेपाल, भारतसहित एसियाका अधिकांश देशबाट यो ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।

राशिफल तथा ज्योतिषीय प्रभाव

फलित ज्योतिषशास्त्रअनुसार यो ग्रहणले विभिन्न राशिमा फरक–फरक प्रभाव पार्नेछ।

  • मेषलाई लाभ, वृषलाई सुख
  • मिथुनलाई माननाश, कर्कटलाई कष्ट
  • सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख
  • तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा
  • धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति
  • कुम्भलाई घात, मीनलाई व्यय

पञ्चाङ्गअनुसार मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका व्यक्तिहरूलाई ग्रहण नहेर्न सुझाव दिइएको छ। शतभिषा र पूर्वाभाद्रपदा नक्षत्र तथा कुम्भ राशिका व्यक्तिहरूलाई यो ग्रहणले विशेष कष्ट दिने उल्लेख गरिएको छ।

धार्मिक तथा पौराणिक मान्यता

पौराणिक मान्यताअनुसार ग्रहण लाग्नुभन्दा केही समयअघि नै सुतक लाग्ने प्रचलन छ। यस अनुसार आज दिउँसो १:११ बजेदेखि बालबालिका, वृद्ध तथा रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ।

चन्द्रग्रहण अवधिमा मन्त्रजप, हवन, पूजा–पाठ जस्ता धार्मिक कार्य गर्नुपर्ने तथा शयन, खानपान र मैथुनजस्ता कार्य नगर्न सुझाव पञ्चाङ्गमा उल्लेख गरिएको छ।

अर्को ग्रहणको जानकारी

पञ्चाङ्गमा यस वर्ष फागुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM