राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि अहिलेसम्म बनेका सबै सरकारहरू संविधानको धारा–७६ अनुसार गठन भएका थिए । तर, युवा ‘जेन–जी’ आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीलाई यसपटक संविधानको धारा–६१ अनुसार नियुक्तिपत्र दिइएको हो ।
नेपालको संविधानको धारा–६१ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था मात्र छ । यस धारा अनुसार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान तथा संघीय कानून बमोजिम कार्य सम्पादन गर्ने प्रावधान गरिएको छ । त्यस्तै, राष्ट्रपति राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्ने जिम्मेवारी पनि सोही धारामा उल्लेख छ ।
प्रधानमन्त्री नियुक्तिका लागि स्पष्ट प्रावधान नभएको धारा प्रयोग गरिएको भन्दै संविधानविद्हरूले यो कदमलाई असामान्य भनेका छन् । तथापि, राष्ट्रपति पौडेलले आफ्नो कर्तव्य र अधिकार व्याख्या गर्दै उक्त धारा अनुसारै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बताएका छन् ।









