निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यासन) ले हालै सम्पन्न जेन्जी आन्दोलनमा शहादत प्राप्त सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न सबै सरोकारवालाहरूसँग आह्वान गरेको छ।
संगठनले शनिबार जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा शहीद भएका युवाहरूको बलिदानले मुलुकको राजनीतिक, सामाजिक र नैतिक चेतनामा ऐतिहासिक परिवर्तन ल्याएको उल्लेख गरिएको छ। सोही आन्दोलनको उपलब्धिका रूपमा मुलुकले पहिलो पटक पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीको रूपमा पाएको भन्दै नयाँ सरकारले भ्रष्टाचारमुक्त शासन, सामाजिक न्याय र समावेशी समृद्धिको दिशा तय गर्ने विश्वास व्यक्त गरिएको छ।
संगठनका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी र सचिव अशोक संग्रौलाले हस्ताक्षर गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रलाई राष्ट्रिय पुनर्निर्माणको मेरुदण्ड मान्दै शैक्षिक लगानी, पूर्वाधार सुधार र रोजगारी सिर्जनामा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ।
विशेष गरी पर्सा जिल्लामा शैक्षिक सत्रको आरम्भदेखि नै शिक्षा क्षेत्र अस्तव्यस्त बनेको उल्लेख गर्दै विज्ञप्तिमा चर्को गर्मी, पानीको अभाव, हैजाको महामारी र पछिल्लो जेन्जी आन्दोलनका कारण पाँच महिनादेखि शिक्षण–सिकाइ प्रभावित भएको जनाइएको छ।
“अब यस अवस्थालाई थप लम्ब्याउनु विद्यार्थीहरूको भविष्यमाथि अन्याय हुनेछ,” विज्ञप्तिमा उल्लेख छ।
त्यसैले, संगठनले अभिभावक, शिक्षक, नागरिक समाज, बुद्धिजीवी तथा सम्पूर्ण जनसमुदायलाई शैक्षिक क्रियाकलापलाई अविलम्ब पुनः सञ्चालन गर्न ठोस पहलकदमी लिन आह्वान गरेको छ।









