२०८२ चैत्र ६ गते शुक्रबार

लायन्स इन्टरनेशनल डिष्टिक्ट ३२५ एस, नेपालद्वारा जेन–जी आन्दोलनका शहीदप्रति दीप प्रज्वलन र श्रद्धाञ्जली

लायन्स इन्टरनेशनल डिष्टिक्ट ३२५ एस, नेपालअन्तर्गत एरिया–३ का सम्पूर्ण लायन्स क्लबहरूको संयुक्त आयोजनामा जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार साँझ वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वीरगञ्ज, जितपुर, अमलेखगञ्ज, कलैया र गञ्जभवानीपुरका सम्पूर्ण लायन्स क्लबहरू सक्रिय सहभागी बनेका थिए। साँझ ५:३० बजे सुरु भएको कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै शहीदहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए।

लायन्स क्लब अफ वीरगञ्ज सेन्टृल सिटिकी अध्यक्ष लायन शुशिला साहले कार्यक्रमको बारेमा जानकारी दिँदै भनिन्, “यो कार्यक्रम हाम्रो तर्फबाट सानो प्रयास हो, जसले ठूलो सन्देश दिन्छ – हामी फेरि उठ्नेछौँ र नेपाललाई अघि बढाउनेछौँ।” उनले जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिन्।

कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी, व्यापारी, महिला समूह, युवा र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शहीदहरूको बलिदानलाई व्यर्थ जान नदिने र उनीहरूले देखेको भ्रष्टाचारमुक्त, सुशासनयुक्त समृद्ध नेपाल निर्माणमा निरन्तर योगदान दिने संकल्प व्यक्त गरे।

लायन्स इन्टरनेशनलको “Mission 1.6 – Small Act, Significant Difference” नारालाई आत्मसात गर्दै एरिया–३ का क्लबहरूले सामाजिक उत्तरदायित्व स्वरूप यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM