संविधान दिवस २०८२ का अवसरमा सात दलीय मधेसी मोर्चाले वीरगञ्जमा विरोध कार्यक्रम आयोजना गरेको छ। संविधानले मधेसलाई दिएको अधिकार अपुरो र विभेदपूर्ण रहेको भन्दै मोर्चाले शुक्रबार घण्टाघरस्थित शहीद स्मारकमा पुगेर शान्तिपूर्ण प्रदर्शन गर्दै दिवस मनाएको हो।
मोर्चाका नेताकार्यकर्ताले हातमा कालो पटी बाँधेर संविधानप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सालिकमा माल्यार्पण गर्दै, संविधानले मधेसको योगदान र बलिदानलाई उपेक्षा गरेको आरोप लगाए।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, जनमत पार्टीकी नेतृ करिमा बेगम, सशिकपुर मियाँ, निजामुदिन असारीलगायत सात दलीय मोर्चाका नेताहरूको उपस्थिति थियो। नेताहरूले संविधान दिवसलाई उत्सवको रूपमा नभई अधिकार र पहिचानका सवालमा अझै अधुरो यात्राको स्मरण गर्ने दिनका रूपमा मनाउनुपरेको बताएका थिए।
जसपा नेपालका अध्यक्ष यादवले मधेस आन्दोलनको संघर्ष र बलिदानलाई बिर्सन नहुने बताउँदै “संविधानले अझै मधेसलाई न्याय दिएको छैन, त्यसैले हाम्रो संघर्ष जारी रहनेछ,”भन्ने धारणा व्यक्त गरे।त्यस्तै जनमत नेतृ करिमा बेगमले महिलामाथि हुने भेदभाव अन्त्य गर्दै समानुपातिक हक सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य भएको बताइन्।
नेताहरूले संविधान निर्माण प्रक्रियामा मधेसको वास्तविक प्रतिनिधित्व नसमेटिएको, मधेसी, थारू, आदिवासी–जनजाति, मुस्लिमलगायत समुदायका मागहरू उपेक्षित भएको भन्दै तिनका अधिकार सुनिश्चित गर्न संविधान सच्याउन आवश्यक रहेकोमा जोड दिए।
स्थानीयबासीले पनि नजिकैबाट अवलोकन गरेको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।









