पर्सा । टेवा को आर्थिक सहयोग र दलित महिला संघ पर्साको आयोजनामा दलित महिलाहरूका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम वीरगञ्जको गेटवे होटलमा सुरु भएको छ। शुक्रबार तालिमको दोस्रो दिन विशेष सत्र
सम्पन्न भएको छ। तालिमको उद्देश्य दलित महिलाहरूलाई सशक्त पार्दै उनीहरूको नेतृत्व क्षमता, अधिकारप्रतिको सचेतना र सामाजिक सहभागिता बढाउने रहेको आयोजकले जनाएको छ।

कार्यक्रम संस्थाको संस्थापक निला रामको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिमको सहजीकरण निभा सिंहले गरेकी थिइन्। तालिमको दोस्रो दिन विशेष सत्रमा संस्थाको सल्लाहकार संयोजक तथा वीरगञ्ज महानगरपालिका–८ का वडा अध्यक्ष रितेश कुमार गुप्ताको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी र उत्साहवर्धक बनाएको सहभागीहरूले बताएका छन्।
तीन दिनसम्म चलिने तालिममा २८ जना दलित महिलाहरूको सहभागिता रहेको थियो। सहभागी महिलाहरूलाई नेतृत्व विकास, अधिकार र कानुनी जानकारी, आर्थिक सशक्तिकरणका उपाय र सामाजिक सहभागितामा सक्रिय हुन प्रोत्साहित गरियो।
कार्यक्रमका अध्यक्ष निला रामले दलित महिलाहरूको सशक्तीकरणका लागि यस प्रकारका तालिम नियमित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरिन्।
दलित महिला संघ पर्साका प्रतिनिधिहरूले भविष्यमा पनि यस प्रकारका तालिम तथा अभियानलाई निरन्तरता दिने र अझ बढी महिलालाई लाभान्वित गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।









