२०८३ जेष्ठ १ गते शुक्रबार

पकाहामैनपुर डुबानमा १५ घरधुरी प्रभावित,युवा नेता अकलेश साह द्वारा डुबानग्रस्त क्षेत्रको स्थलगत अवलोकन

 

पकाहामैनपुर गाउँपालिका–२ मानिपुरका बस्ती मंगलबार र बुधबारको वर्षापछि डुबानमा परेका छन्। लगातारको वर्षाले करिब १५ घरधुरीमा पानी पस्दा स्थानीयवासीलाई ठूलो समस्या भएको छ।

स्थानीय महेन्द्र कम्करका अनुसार नाला तथा पानी निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षा हुँदा पनि गाउँ डुबानमा पर्ने गरेको छ। “सामान्य पानी पर्दा पनि घरभित्रै पानी पस्छ, पालिकाले निकासको कुनै व्यवस्था गरेको छैन,” उनले गुनासो गर्दै बताए।

यसैबीच, नेकपा एमाले पकाहामैनपुरका युवा नेता अकलेश साह बुधबार डुबानग्रस्त क्षेत्रको स्थलगत अवलोकनमा पुगेका थिए। उनले प्रभावित स्थानीयवासीको पीडा सुन्दै पालिकाको चरम लापरबाहीप्रति गम्भीर चिन्ता व्यक्त गरे। “गाउँपालिका स्थापना भएको सात वर्ष पुगिसक्दा पनि यस्तो समस्या समाधान गर्न चासो नदिनु दुःखद छ,” साहले भने।

ओविसीका केन्द्रीय उपाध्यक्ष समेत रहेका साहले तत्काल नाला निर्माण गरी निकासको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै पालिका प्रमुख सुरेश मेहतासँग छिटो पहलका लागि आग्रह गरेका छन्। उनले पालिकाले यसतर्फ ध्यान नदिए प्रभावित स्थानीयवासीको समस्या झन् चर्किने चेतावनी दिएका छन्।

डुबानका कारण प्रभावित परिवारहरूले दैनिक जीवनयापनमै कठिनाइ भोग्नुपरेको छ। घरभित्रै पानी पस्दा भान्सा र शौचालय प्रयोग गर्न नसक्ने अवस्था बनेको छ। विद्यालय जाने बालबालिका, वृद्ध तथा महिला विशेष रूपमा समस्यामा परेको देखिएको छ।

स्थानीयवासीले वर्षेनी दोहोरिने डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न तत्काल नाला निर्माण र पूर्वाधार विकासमा पालिकाले प्राथमिकता दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM