२०८२ चैत्र ६ गते शुक्रबार

वीरगञ्ज महानगरपालिकाको बजेट पुनःनिर्माणतर्फ, सहिद असहाब आलमको परिवारलाई ५ लाख सहयोग

 

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनःनिर्माणतर्फ खर्च गर्ने निर्णय गरेको छ। शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त बनेको थियो। नगरको सम्पत्ति खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा निरन्तरता दिन पुनःनिर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेर उक्त कार्यमा लगानी गर्ने निर्णय गरेको हो।

विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट प्रस्तुत गरेका थिए। महानगरको १७औँ नगर परिषदले यसअघि आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो। सो बजेटभित्र नगरस्तरीय पूँजीगत योजना र सामाजिक विकास कार्यक्रमका विनियोजित रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष अधिवेशनले गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले विकास योजनाहरूलाई हाल स्थगित गरी कार्यपालिका बैठकबाट पुनःनिर्माणका कार्यहरूको शीर्षक तर्जुमा गर्ने जानकारी दिएका छन्। उनका अनुसार, यो संशोधनले तत्कालै नगरको प्रशासनिक क्षमता अभिवृद्धि र सेवा प्रवाह पुनःस्थापना गर्ने मार्ग प्रशस्त गर्नेछ।

त्यसैगरी, विशेष नगरसभाले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वीरगञ्ज महानगरपालिका वडा नं. १२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ।

नगरसभाले स्पष्ट पारेको छ कि संशोधित बजेटमार्फत नगर पुनःनिर्माण, भौतिक संरचनाको पुनःस्थापना, प्रशासनिक सुधार र नागरिक सेवामा सहजता ल्याउने कार्यलाई प्राथमिकतामा राखिनेछ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM