अभिलाष गुप्ता
चैत २८ वीरगञ्ज
पर्सा जिल्लाको वीरगञ्ज वडा नम्बर २३ स्थित प्रसौनी बिर्ताको मुख्य सडक जीर्ण बनेको छ ।गएराती देखि परेको अविरल वर्षासँगै हनुमान मन्दिर पूर्वदेखि राजाराम पुलसम्मको सडक जलमग्न बनेपछि स्थानीयवासीहरू आवतजावतमा कठिनाइ भोगिरहेका छन् ।स्थानीयका अनुसार क्षेत्रमा विगत लामो समयदेखि सडकको अवस्था अत्यन्तै खस्किएको छ । पानी जम्ने समस्या त छँदै थियो, तर लगातारको वर्षाले स्थिति झनै बिग्रिएको कारण स्थानीयलाई हिडडुल गर्न समेत अफ्ट्यारो परेको छ।
स्थानीयवासीहरूले समयमै पानीको उचित निकास र सडक पिच गर्ने माग गरेका छन् । “जति बेला पानी पर्छ, त्यति बेला बाटो त पार गर्नै नसकिने हुन्छ,” एक स्थानीयवासीले भने, “साना बालबालिकादेखि बृद्धबृद्धासम्मलाई हिँड्नै गाह्रो हुन्छ, कहिले दुर्घटना हुने हो भन्ने डर हुन्छ ।”स्थानीयले सडकको विषयमा सांसद, प्रदेश सांसद, मेयर र वडा अध्यक्ष सबैको ध्यानाकर्षण गराएका छन् ।
सडक पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्छ । क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका रूपमा प्रदीप यादव निर्वाचित भएका छन् । यादव हाल संघीय सरकारको खानेपानी मन्त्री पनि छन् । त्यस्तै सडक मधेस प्रदेशसभाको क्षेत्र नम्बर १ मा पर्छ । प्रदेशसभामा पूर्व मन्त्री रहबर अन्सारी निर्वाचन छन् । त्यस्तै वीरगञ्ज महानगरपालिकाअन्तर्गत पर्ने भएकोले स्थानीयहरूले मन्त्री यादव, पूर्व मन्त्री अन्सारीसँगै वीरगञ्जका प्रमुख राजेशमान सिंहलाईलाई तत्काल पहल गर्न अपिल गरेका छन् ।स्थानीय तहको मुख्य जिम्मेवारीमा पर्ने सडक मर्मत तथा जल निकासको व्यवस्था नगर्दा हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ ।



















