अभिलाष गुप्ता
बैशाख २० बिरगंज
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ सुगौली निवासी बाघा राम र प्रभावती रामकी छोरी राजकुमारी रामको बैशाख २२ गते सखुवा प्रसौनी गाउँपालिका–५ बालुवा निवासी स्व. माठा रामका छोरा दीपक रामसँग विवाह हुन गइरहेको छ। तर, बुवा दीर्घ रोगी र आमाबाहेक परिवारमा काम गर्ने कोही नभएकाले विवाह खर्च जुटाउन सकिएको थिएन।
विवाहको पूर्वसन्ध्यामा कथापूजाको दिनलाई लक्षित गर्दै जब यसबारे जानकारी उपकार सेवा नेपालकी अध्यक्ष बिध्या कुमारी सरावगीलाई गराइयो, उहाँले तत्काल सहयोगको प्रतिबद्धता जनाउनु भयो। संस्थाको तर्फबाट विवाहका लागि आवश्यक खाद्यान्न तथा सामग्रीहरू — ५० किलो चामल, १० किलो दाल, २० किलो पिठो, ५ लिटर खाने तेल, २० किलो चिउरा, ४ किलो नून, २० किलो आलु, ५ किलो प्याज — साथै लुगा तथा भाँडाकुँडा (४ थान साडी, २ थान टवेल, १ थान चुनरी, १ थान टि–सर्ट, ३ थान पर्स, ४ सेट प्लेट, कचौरा र गिलास), साथै एक सेट टेबल पंखा लगायत अन्य विवाह सामग्रीहरू प्रदान गरिएको छ।
सामग्रीहरू बिहेको घरमै पुगेर अध्यक्ष सरावगी, सामाजिक अभियन्ता प्रकाश थारु तथा संस्थाका सदस्य अंकुर शर्मा र अवधेश मिश्राले बेहुलीकी आमा प्रभावती रामलाई हस्तान्तरण गरेका थिए।









