अभिलाष गुप्ता
बिरगंज, २८ वैशाख
शान्तिका अग्रदूत शान्तिनायक भगवान गौतम बुद्धको २६४९ औं जन्मदिवस, २६१४ औं बुद्धत्व प्राप्ति दिवस र २५६९ औं महापरिनिर्वाण दिवसको अवसरमा एलाइड युथ सोसाइटी बिरगंज पर्साको आयोजनामा विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
आइतबार सम्पन्न उक्त कार्यक्रममा नेपाली सेनाका श्रीकृष्ण थापा, एलाइड युथ सोसाइटीका सचिव सन्नी श्रीवास्तवको नेतृत्वमा विविध सुरक्षा निकाय तथा शैक्षिक संस्थाहरुको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रममा श्री श्री जंग गण पर्सा, सशस्त्र प्रहरी बल न. म. १३ गण पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र बिरगंज महानगरपालिकाको सहकार्य तथा गौतम विद्यालय र नेशनल इन्फोटेक विद्यालयको सहयोग रहेको थियो।
कार्यक्रममा एलाइड युथ सोसाइटी बिरगंज पर्साका अध्यक्ष ओम झा, मधेश विश्व विद्यालयका उपकुलपति डा. दीपक शाक्य, सुरक्षा निकायका उच्च अधिकारीहरू, विद्यार्थी, शिक्षक तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
गौतम विद्यालयका सञ्चालक सोनम लामाले विशेष आतिथ्य ग्रहण गर्दै भगवान बुद्धको जीवन दर्शन, अहिंसा र विश्वशान्तिको सन्देशबारे मन्तव्य व्यक्त गरे। उनले शिक्षाको माध्यमबाट नै बुद्धका विचारहरूलाई पुस्तान्तर गर्न सकिने धारणा राखे।
यस सरसफाई अभियानले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्वच्छ समाज निर्माणमा युवाहरूको भूमिका झल्काएको आयोजक संस्थाले जनाएको छ।



















