अभिलाष गुप्ता
पर्सा, वीरगञ्ज
जिल्ला ट्राफिक कार्यालय पर्सा, समृद्धि नेपाल तथा व्यवस्थित वीरगञ्ज अभियानको संयुक्त आयोजनामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम प्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं. २ को छपकैया चोकमा सञ्चालन गरिएको हो। पछिल्लो समय सो क्षेत्रमा सवारी दुर्घटना बढ्दै गइरहेको र जनधनको क्षति भइरहेकाले यस्तो कार्यक्रम जरुरी रहेको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा प्रोजेक्टर मार्फत सडक दुर्घटनासम्बन्धी भिडियो तथा वृत्तचित्रहरू देखाइएका थिए। बालबालिका, महिला तथा वृद्धवृद्धासहित सयौं स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक दिलिप राज कार्कीले रोगले भन्दा पनि ट्राफिक नियमको उल्लंघनकै कारण धेरै नागरिकले ज्यान गुमाइरहेकाले समुदायमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।
ट्राफिक प्रहरी प्रमुख प्र.नि. लोकराज भट्टले यस्तो अभियान प्रभावकारी बनाउन सबै पक्षको साथ र सहयोग अपेक्षित रहेको बताए। वडा नं. २ का अध्यक्ष रेयाज अन्सारीले यस्ता कार्यक्रमले विशेषगरी युवाहरूमाझ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका सह–आयोजक संस्था समृद्धि नेपालका अध्यक्ष सुरज सरार्फले आगामी दिनमा पर्सा जिल्लाका अन्य स्थानहरूमा पनि यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिए।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, बि.म.न.पा. ३ का वडा अध्यक्ष वैजु लाल स्वर्णकार, स्वास्थ्यकर्मी महेश धामी, रा.स.स. प्रमुख हिमाल लम्साल, पत्रकार सुस्मिता यादवसहित सञ्चारकर्मी, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
यो अभियानले सडक दुर्घटना न्यूनीकरणमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।



















