अभिलाष गुप्ता
बीरगंज,०५ जेष्ठ
लायन्स क्लब बीरगंज सेंट्रल सिटी र लायन्स क्लब प्रभुको संयुक्त आयोजना तथा प्रभु बैंक आदर्शनगर शाखाको सहकार्यमा आयोजित वित्तीय साक्षरता कार्यक्रम बीरगंजको कुम्हालटाेलस्थित मूनलाइट स्कुलमा भव्यतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रभु बैंकका दक्ष प्रशिक्षक राजेश पोखरेलले मूनलाइट स्कुलका करिब सत्तरी जना छात्र–छात्राहरुलाई वित्तीय साक्षरताका महत्वपूर्ण पक्षहरूबारे जानकारी गराएका थिए। प्रशिक्षणमा विद्यार्थीहरूलाई बैंकिङ प्रणाली, बचतको महत्त्व, डिजिटल बैंकिङ, साइबर सुरक्षा, लगानीका विकल्पहरू लगायत दैनिक जीवनमा प्रयोग हुने वित्तीय ज्ञान प्रदान गरियो।
कार्यक्रम लायन्स क्लब सेंट्रल सिटीका अध्यक्ष डा. लक्ष्मी थापा र लायन्स क्लब प्रभुका अध्यक्ष दिगम्बर प्रसादको सफल नेतृत्वमा सम्पन्न भयो। कार्यक्रमलाई प्रभु बैंक आदर्शनगर शाखाका प्रबन्धक रबिन्द्र चालिसे तथा मूनलाइट स्कुलका प्रधानाध्यापक श्याम कुमार केसी र सुलभ केसीले विशेष सहयोग प्रदान गरेका थिए।
समारोहमा लायन्स क्लबका पदाधिकारीहरू, शिक्षक–शिक्षिकाहरू, विद्यार्थीहरू, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य शिक्षण संस्थामा अध्ययनरत बालबालिकामा वित्तीय अनुशासनको विकास गर्नु, उनीहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग परिचित गराउनु र भविष्यमा जिम्मेवार नागरिक बनाउन मद्दत गर्नु रहेको आयोजकले जनाएका छन्।
लायन्स क्लब र प्रभु बैंकको यो सराहनीय प्रयासले वित्तीय साक्षरतामा योगदान पुर्याउनुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने दृष्टिकोणमा उदाहरणीय कार्यको रूपमा रहेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।



















