२०८२ माघ ११ गते आईतवार

नारायणी अस्पतालको आइसियु र सिसिसियु वार्डमा विद्युत अवरुद्धतापछि बिरामी संकटमा, गम्भीर लापरवाहीप्रति कारबाहीको प्रक्रिया सुरु

 

अभिलाष गुप्ता
वीरगंज, जेष्ठ १८

शुक्रबार राति नारायणी अस्पताल, वीरगंजको आइसियु (ICU) र सिसिसियु (CCCU) वार्डमा विद्युत सर्किट सर्ट भई करिब तीन घण्टासम्म विद्युत सेवा अवरुद्ध हुँदा उपचाररत बिरामीहरू ज्यानको गम्भीर जोखिममा परेका छन्। सो घटनाप्रति अस्पताल विकास समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विद्युत अवरुद्धताका कारण जीवनरक्षक उपकरणहरू बन्द हुँदा आइसियु तथा सिसिसियु वार्डमा उपचाररत १७ जना बिरामीहरूको स्वास्थ्य संकटमा परेको थियो। तत्काल वैकल्पिक उपायमार्फत विद्युत आपूर्ति बहाल गर्ने प्रयास गरिए तापनि घटनालाई गम्भीर लापरवाहीका रूपमा लिँदै समितिले कडा प्रतिक्रिया दिएको छ।

शनिबार सामाजिक सञ्जालमार्फत अस्पताल विकास समितिका अध्यक्ष धीरज कुमार गुप्ताले लेख्दै भने, “हिजो राति नारायणी अस्पतालको आइसियु/सिसिसियु वार्डमा सर्ट सर्किट भई बिद्युत् आपूर्ति अवरुद्ध हुँदा गम्भीर दुर्घटना हुने अवस्था सिर्जना भएको थियो। यस्तो लापरवाही क्षम्य छैन।”

घटनापछि शनिबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. चित्तरञ्जन साह, नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख, अस्पतालका विभिन्न विभाग प्रमुखहरू र जिम्मेवार व्यक्तिहरूको उपस्थितिमा आकस्मिक बैठक बसेको थियो। बैठकमा घटनाको गम्भीर समीक्षा गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने निर्णय गरिएको अध्यक्ष गुप्ताले जानकारी दिएका छन्।

विद्युत सर्किट सर्टको घटनामा संलग्न रहँदै लापरवाही देखाएको आरोपमा अस्पतालका ड्युटी इलेक्ट्रीसियन ईन्चार्ज सञ्जीव गुप्तालाई निलम्बन गरिएको छ। साथै, आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको अध्यक्ष गुप्ताले जानकारी दिएका छन्।

अस्पताल प्रशासनले यस्ता घटनाको पुनरावृत्ति रोक्न तत्काल आवश्यक पूर्वाधार सुधार, नियमित मर्मतसम्भार तथा वैकल्पिक ऊर्जा प्रणालीको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएको छ।

सार्वजनिक स्वास्थ्य संस्थामा यस्तो लापरवाही दु:खद र चिन्ताजनक भएको भन्दै सर्वसाधारण तथा बिरामीका आफन्तहरूले पनि तत्काल सुधारको माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM