वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चोकबाट स्रोत नखुलेको रु. ३ लाख ४६ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको नियमित जाँच टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा साइकलबाट आउँदै गरेका भारत बिहार राज्य मोतीहारी जिल्ला रक्सौल वडा नं. १७ निवासी ५० वर्षीय प्रभु साहलाई चेकजाँचका लागि रोकेको थियो।
प्रहरीका अनुसार, साहले साइकल चलाइ संकास्पद रूपमा वीरगञ्जतर्फ आउँदै गर्दा रोकी कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा उनको झोलाभित्र लुकाएर राखिएको अवस्थामा नेपाली हजार रुपैयाँ दरका ३४४ थान (रु. ३,४४,०००) र सय रुपैयाँ दरका २० थान (रु. २,०००) गरी जम्मा रु. ३,४६,००० फेला परेको हो।
नगद रकमको स्रोत खुल्न नसकेपछि साहलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबार सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, यो रकम अवैध हुण्डी कारोबारमा प्रयोग हुने आशंकामा अनुसन्धान गहिराइमा गरिएको छ।



















