पर्सा जिल्लाको ठोरी गाउँपालिकामा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमि आयोग पर्साद्वारा जग्गा नापजाँच कार्यको औपचारिक शुभारम्भ गरिएको छ।
शुभारम्भ समारोह भूमि आयोग पर्साका अध्यक्ष तबरेज आलमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अध्यक्ष आलमले नापजाँचमा प्रयोग गरिने मेशिनको बटन अन गरी कार्यको विधिवत् उद्घाटन गरे।
कार्यक्रम ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। अध्यक्ष श्रेष्ठले भूमिहीनको समस्यालाई केवल जमिनको विषयमा सीमित नराखी, मौलिक हक, समानताको हक र सामाजिक न्यायको अधिकारको रूपमा लिइनुपर्ने धारणा व्यक्त गरे। उनले राज्यको प्रमुख दायित्व जनताको अधिकार सुनिश्चित गर्नु भएको उल्लेख गर्दै, “यसपालिको टीका संगै लालपुर्जा पनि वितरण गरिनेछ,” भनी प्रतिबद्धता व्यक्त गरे।
उक्त कार्यक्रममा भूमि आयोगका सदस्य–सचिव दिपक सिंह, वरिष्ठ नापी अधिकृत राजकुमार बि.क., नापी सर्वेक्षक मधुरेन्द्र झा, सुब्बा राजेन्द्र खड्का, पालिकाका कर्मचारी, आयोगका कर्मचारी तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









