वीरगञ्जमा आज आयोजित एक विशेष कार्यक्रममा निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) पर्साका पदाधिकारीहरूले संघीय सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनका प्रावधानबारे गृह मन्त्री लेखकलाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्।
बीरगन्जमा निजी विद्यालयहरुले आईतबार गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाउदै आफ्ना मागहरु सम्बन्धमा सरकारलाई गम्भीर भईदिन आग्रह समेत गरे । प्याब्सनको केन्द्रिय सदस्इ छेदुप लामा, पर्सा जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, सचिव अशोक संग्रौला, नगर अध्यक्ष राहुल श्रीवास्तव, नगर सदस्य बिजय बल, एन प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, नगर अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहर, सन्नी दुवे लगायतको निजी विद्यालयका सन्चालकहरुको टोलीले निजी विद्यालय सिद्धयाउने गरी सिफारिस भएको विधेयकमा संशोधन गरेर मात्र प्रतिनिधिसभाबाट पारित हुनुपर्ने भन्दै गृहमन्त्री लेखकको ध्यानाकर्षण गराए ।
उनीहरूले बुझाएको ज्ञापनपत्रमा सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनले निजी विद्यालयलाई बन्द गर्ने प्रावधान राखेको भन्दै आपत्ति जनाइएको छ।प्याब्सनका पदाधिकारीहरूले निजी विद्यालयहरूको अस्तित्व, दिगोपन र शैक्षिक गुणस्तर सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै विधेयक तत्काल संशोधन गर्न माग गरे।
ज्ञापनपत्रमा विद्यालय सञ्चालकहरूको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षक–कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने, पाठ्यक्रम व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने र शैक्षिक गुणस्तर उकास्ने खालको प्रावधान राखेर मात्र शिक्षा ऐन ल्याउनुपर्ने उल्लेख गरिएको छ।
गृह मन्त्री लेखकले ज्ञापनपत्र ग्रहण गर्दै निजी विद्यालयहरूको योगदानलाई सरकारले सम्मान गर्ने आश्वासन दिएका छन्। साथै उनले विद्यालय सञ्चालकहरूको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।









