मारवाडी समाजको अत्यन्त महत्वपूर्ण पर्व गणगौर पूजा आज हर्षोल्लास, श्रद्धा र भक्तिका साथ सम्पन्न भएको छ। यस अवसरमा मारवाडी समाजका महिलाहरूले भगवान शिवको पूजा–अर्चना गरी सुख–समृद्धि तथा अखण्ड सौभाग्यको कामना गर्दै गणगौरलाई भावपूर्ण विदाइ दिएका छन्।
कार्यक्रममा नवविवाहिता, सुहागिन महिला तथा कुँवारी कन्याहरूको विशेष सहभागिता रहेको थियो। महिलाहरूले सोलह श्रृंगार गरी मंगल गीत गाउँदै टाउकोमा गणगौर बोकी परम्परागत विधिअनुसार पूजा–अर्चना गरेका थिए। यस क्रममा परिवारको सुख, समृद्धि र कल्याणको कामना गरिएको थियो।
अखिल भारतीय मारवाडी महिला सम्मेलन, रक्सौलकी अध्यक्ष सोनू काबरा तथा प्रान्तीय महिला तथा बाल विकास प्रमुख वीणा गोयलले जानकारी दिँदै चैत्र बदी एकमदेखि सुरु भएको गणगौर पूजा चैत्र शुक्ल पक्ष तृतीया का दिन शहरस्थित श्री सत्यनारायण मारवाडी पंचायती मन्दिरमा विधिपूर्वक पूजन गरी समापन गरिएको बताए। त्यसपछि साँझ बाजागाजासहित शोभायात्रा निकाल्दै पोखरीमा गणगौरको विसर्जन गरिएको थियो।करिब १८ दिनसम्म सञ्चालन भएको यस धार्मिक कार्यक्रममा श्रद्धा, भक्ति र उत्साहको अनुपम संगम देखिएको थियो।
उक्त कार्यक्रममा सम्मेलनकी अध्यक्ष सोनू काबरा, वीणा गोयल, सचिव संगीता अग्रवाल, कोषाध्यक्ष संगीता रुंगटा, रचना रुंगटा, अनुराधा शर्मा, शिप्रा सिकारिया, बबीता रुंगटा, बबली अग्रवाल, मधु अग्रवाल, मीना भरतिया, खुशबू भरतिया, शिल्पा भरतिया, सुमन अग्रवाल, सुशीला अग्रवाल, सुनीता शाह, ज्योति शर्मा, सरिता शर्मा, सारिका अग्रवाल तथा नीलम खेतान लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो।








