बिरगञ्ज महानगरपालिका वडा नं. ९ मा महिलालाई स्वरोजगारमुखी बनाउन उद्देश्यले १ महिने डलकुशन (डल कुसन) बनाउने तालिम सञ्चालन गरिएको छ। वडा समितिको सहयोग तथा नेपाल महिला विकास संघको आयोजनामा सुरु गरिएको उक्त तालिमको एक समारोहबीच उद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले तालिमको उद्घाटन गर्दै महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बन्न प्रेरित गर्न यस्तो कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले सिकेको सीपलाई व्यवहारमा उतार्दै आम्दानीको स्रोत सिर्जना गर्न सहभागी महिलालाई आग्रह समेत गरे।
त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा सदस्यहरू नन्दकिशोर चौहान, लालबाबु गुप्ता, गीता मानन्धर र कुमारी सोनी पासवान तथा समाजसेवी सतीश सिंह राजपूतको विशेष उपस्थिति रहेको थियो। उनीहरूले पनि महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिम आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
नेपाल महिला विकास संघकी अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममार्फत सञ्चालनमा आएको तालिममा सहभागी महिलाहरूलाई १ महिनासम्म व्यावसायिक रूपमा डलकुशन बनाउने सीप प्रदान गरिने आयोजकले जनाएको छ। तालिमपछि महिलाहरूले आफ्नै घरमै साना उद्योग सञ्चालन गरी आयआर्जन गर्न सक्ने विश्वास लिइएको छ।








