अभिलाष गुप्ता
बिरगंज २३ बैशाख

शान्तिपूर्ण, सुरक्षित तथा सभ्य समाज निर्माण गर्ने लक्ष्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा, वीरगंजको आयोजनामा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत सडक सुरक्षा तथा बाल विवाहविरुद्ध विशेष सचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
वीरगंज महानगरपालिका–१४ स्थित मदरसा तौहिदुल सल्फिया मा.वि.मा आयोजित उक्त कार्यक्रममा करिब ९५० जना विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले स्थानीय स्तरमै जनचेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र पौडेल उपस्थित रहनुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको कडाइका साथ पालना अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “सडकमा सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ, त्यसैले प्रत्येक नागरिक सचेत र जिम्मेवार बन्न आवश्यक छ,” उहाँले जोड दिनुभयो।
त्यसैगरी, महिला सेलका तर्फबाट प्रहरी निरीक्षक सुनिता शर्माले बाल विवाहको नकारात्मक असरबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो। उहाँले बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भविष्यमा गम्भीर असर पार्ने भन्दै यस्ता कुरीतिविरुद्ध सबै तहबाट सचेतना आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको सहजीकरण तथा संयोजन दिलिप राज कार्कीले गर्नुभएको थियो। उहाँले समुदाय–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा स्टार युथ क्लबका अध्यक्ष सम्साद अली अन्सारी, फुरकान एकेडेमीका निर्देशक जावेद इकबाल हैदर, महन्त रफिक अन्सारी लगायत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले सामाजिक विकृति तथा विसंगतिविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
विद्यालय तथा अभिभावकहरूको तर्फबाट इमामुदिन अन्सारीले यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक सोचको विकास गर्नुका साथै अभिभावकलाई समेत सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै यस्ता अभियान गाउँ–टोलसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा ट्राफिक नियमसम्बन्धी व्यवहारिक जानकारी, सडक पार गर्ने सही तरिका, हेल्मेट र सिटबेल्टको प्रयोगको महत्व, साथै बाल विवाहका कानुनी र सामाजिक असरबारे जानकारीमूलक प्रस्तुति समेत गरिएको थियो। सहभागी विद्यार्थीहरूले जिज्ञासा राख्दै अन्तरक्रियात्मक रूपमा कार्यक्रमलाई अझ प्रभावकारी बनाएका थिए।
कार्यक्रमको अन्त्यमा आयोजक पक्षले यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिँदै विद्यालय, समुदाय र विभिन्न संघ–संस्थासँग सहकार्य गरी सुरक्षित समाज निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस प्रकारका कार्यक्रमहरूले नागरिकमा अनुशासन, जिम्मेवारी र सामाजिक उत्तरदायित्वको भावना विकास गर्दै समग्र समाजलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।







