अभिलाष गुप्ता
वीरगञ्ज, २६ वैशाख

वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरको वार्षिक रथ यात्रा आगामी असार ३२ गते भव्य रूपमा निकालिने भएको छ। आज बसेको बैठकले रथ यात्रा तथा महाप्रसाद भण्डारा कार्यक्रमको मिति तय गरेको हो।
श्याम पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले असार ३२ गते रथ यात्रा आयोजना गर्ने तथा साउन १ गते महाप्रसाद भण्डारा सञ्चालन गर्ने निर्णय गरेको समिति सदस्य देवानन्द कलवारले जानकारी दिए।
समितिका अनुसार रथ यात्रालाई यस वर्ष थप व्यवस्थित, आकर्षक र भव्य बनाउन आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त रथ यात्रामा प्रत्येक वर्ष हजारौं श्रद्धालुहरूको सहभागिता रहने गर्दछ।
समितिले रथ यात्रा सफल बनाउन स्थानीयवासी, श्रद्धालु, समाजसेवी तथा विभिन्न संघसंस्थासँग आवश्यक समन्वय र सहकार्य पनि अगाडि बढाइएको जनाएको छ।








