२०८३ बैशाख २६ गते शनिबार

बुद्धि प्रसाद (हरि) पन्तविरुद्ध फैलाइएको भ्रामक सामग्रीप्रति सचिवालयको आपत्ति, कानुनी प्रक्रिया सुरु

अभिलाष गुप्ता
वीरगञ्ज, २६ वैशाख

पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद (हरि) पन्तको नाम, तस्वीर तथा प्रतिष्ठासँग जोडेर सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा प्रकाशित सामग्रीप्रति उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मिति २०८३ वैशाख २६ गते जारी गरिएको प्रेस विज्ञप्तिमा प्रकाशित सामग्रीमा लगाइएका आरोपहरू पूर्ण रूपमा कपोलकल्पित, भ्रामक, तथ्यहीन तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको उल्लेख गरिएको छ।

सचिवालयका अनुसार अनलाइनमा उल्लेख गरिएका व्यवसाय तथा व्यावसायिक संस्थासँग माननीय पन्तको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारिएको छ। बिना प्रमाण व्यक्तिको नाम, तस्वीर तथा सार्वजनिक छविलाई जोडेर गलत सूचना फैलाउनु कानुनी रूपमा दण्डनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ।

सचिवालयले यस्ता आधारहीन सामग्रीले सांसद पन्तको व्यक्तिगत प्रतिष्ठा, सामाजिक सम्मान तथा राजनीतिक जीवनमा गम्भीर क्षति पुर्‍याउने प्रयास गरेको जनाएको छ। साथै, सामग्री निर्माण, प्रकाशन, शेयर तथा प्रसारण गर्ने व्यक्ति वा संस्थालाई तत्काल त्यस्ता सामग्री हटाउन, गलत प्रचार रोक्न तथा सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा नेपालको संविधान, विद्युतीय कारोबार ऐन, मुलुकी अपराध संहितालगायत प्रचलित कानुनअनुसार कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको जानकारी पनि दिइएको छ।

सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई अपुष्ट तथा भ्रामक सामग्री शेयर नगर्न तथा जिम्मेवार सूचना प्रवाह गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM