२०८३ बैशाख २६ गते शनिबार

वीरगञ्ज महानगरको कडा निर्देशन : विद्यालयबाट किताब, ड्रेस र स्टेशनरी बिक्री गर्न रोक

अभिलाष गुप्ता
वीरगञ्ज, २६ वैशाख

वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालयहरू तथा मन्टेश्वरीहरूलाई लक्षित गर्दै कडा निर्देशन जारी गरेको छ। महानगरपालिकाले नेपाल सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरिसकेको अवस्थामा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण विद्यालयहरूमा आइतबार पठनपाठन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको हो।

महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा कतिपय विद्यालयहरूले सार्वजनिक बिदाको दिनसमेत विद्यालय सञ्चालन गरिरहेको जानकारी प्राप्त भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। यस्तो कार्य सरकारको निर्णयविपरीत मात्र नभई शैक्षिक अनुशासन तथा प्रचलित कानुनी व्यवस्थाको खुला उल्लंघन भएको महानगरपालिकाको भनाइ छ।

महानगरपालिकाले अब विद्यालयहरूको अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ। साथै, केही निजी तथा संस्थागत विद्यालयहरूले विद्यालय परिसरभित्रबाटै पाठ्यपुस्तक, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गरिरहेको गुनासो प्राप्त भएपछि प्रशासन थप कडा रूपमा प्रस्तुत भएको बताइएको छ।
विद्यालयलाई व्यापारिक केन्द्रका रूपमा प्रयोग गर्ने प्रवृत्तिले विद्यार्थी तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थपिएको भन्दै महानगरपालिकाले यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ। विद्यालय हाताबाट नै किताब, ड्रेस तथा स्टेशनरी बिक्री गरेको पाइएमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी तथा अनावश्यक सङ्ख्यामा पुस्तकहरू विद्यार्थीमाथि थोपर्ने कार्यप्रति पनि महानगरपालिका गम्भीर बनेको छ। साना बालबालिकालाई अत्यधिक पुस्तकको बोझ बोक्न बाध्य बनाउँदा उनीहरूको मानसिक तथा शारीरिक विकासमा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल यस्तो प्रवृत्ति रोक्न निर्देशन दिइएको छ।
महानगरपालिकाका अनुसार आवश्यकभन्दा बढी पुस्तक प्रयोग गराएर अभिभावकबाट अनावश्यक आर्थिक भार उठाउने तथा विद्यार्थीलाई तनाव दिने कार्य सह्य नहुने उल्लेख गरिएको छ।

अनुगमनका क्रममा अनावश्यक पाठ्यपुस्तक प्रयोग भएको पाइएमा सम्बन्धित विद्यालय प्रशासनमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
शैक्षिक क्षेत्रलाई व्यवस्थित, मर्यादित र विद्यार्थीमैत्री बनाउन महानगरपालिकाले थालेको पहलको अभिभावक तथा शिक्षाप्रेमीहरूले स्वागत गरेका छन्। विशेषगरी शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेको सक्रियता, कानुन कार्यान्वयनप्रतिको प्रतिबद्धता तथा निजी विद्यालयहरूलाई अनुशासनभित्र ल्याउने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।

महानगरपालिकाले “कानुन मान्नु हामी सबैको साझा कर्तव्य हो, कानुन विपरीत कार्य गर्नु कारबाहीको भागीदार हुनु हो” भन्ने सन्देशसहित सम्पूर्ण विद्यालय प्रशासनलाई सरकारी निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। साथै, अब पनि सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गर्ने, विद्यालयबाटै किताब तथा पोशाक बिक्री गर्ने वा विद्यार्थीमाथि अनावश्यक पुस्तकको बोझ थोपरिने कार्य दोहोरिएमा कुनै पनि हालतमा छुट नदिइने स्पष्ट चेतावनी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM