२०८३ बैशाख २७ गते आईतवार

वीरगञ्जका तीन क्यासिनोमा मध्यराति प्रहरी छापा, ६ जना नियन्त्रणमा

अभिलाष गुप्ता
वीरगञ्ज, २७ वैशाख

वीरगञ्जमा सञ्चालनमा रहेका तीन वटा क्यासिनोमा प्रहरीले मध्यराति छापा मारेर ६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार होटल दियालो सिद्धार्थस्थित किंग्स क्यासिनो, होटल सुरजमा रहेको फचूृन सिटी गेमिंग क्लब क्यासिनो तथा होटल सरोवरमा सञ्चालित क्यासिनो मोहजंगमा एकसाथ छापा मारिएको हो।

पक्राउ पर्नेहरूमा भारतको बिहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारी रहेका छन्। प्रहरीले नियन्त्रणमा लिएका अन्य एक जनाको विवरण खुलाइएको छैन।

नेपालको प्रचलित कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश तथा जुवा खेल्न प्रतिबन्ध रहेको छ। प्रहरीले नियन्त्रणमा लिएका ६ जनामध्ये अन्सारी बाहेक अन्य पाँच जनाले आफू भारतीय नागरिक भएको बताएका थिए। तर उनीहरूले भारतीय नागरिक भएको पुष्टि गर्ने कुनै आधिकारिक कागजात प्रस्तुत गर्न नसकेपछि प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा खटिएको टोलीले क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा भारत बिहार घर बताउने पाँचै जना वास्तवमा नेपाली नागरिक हुन सक्ने आशंका प्रहरीले गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूको नागरिकता, परिचय तथा क्यासिनो प्रवेशसम्बन्धी विषयमा विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले क्यासिनो सञ्चालनमा कानुनी प्रावधान पालना भए नभएको विषयमा समेत निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM