२०८३ बैशाख २७ गते आईतवार

नीलकण्ठ अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु, चिकित्सकीय लापरवाहीको आरोप

अभिलाष गुप्ता
वीरगञ्ज, २७ वैशाख

वीरगञ्जको अदालत रोडस्थित नीलकण्ठ अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि अस्पताल प्रशासनमाथि चिकित्सकीय लापरवाहीको गम्भीर आरोप लागेको छ। मृतक वीरगञ्ज महानगरपालिका वडा नं. ३१ चोर्नी निवासी ४७ वर्षीया प्रमिला देवी साह रहेको परिवारजनले बताएका छन्।

परिवार स्रोतका अनुसार शुक्रबार बिहान करिब ४:४५ बजे पेट दुख्ने सामान्य समस्यापछि प्रमिला देवीलाई उपचारका लागि नीलकण्ठ अस्पताल लगिएको थियो। परिवारजनका अनुसार अस्पताल पुग्दासम्म उनी सामान्य अवस्थामा थिइन् र आफैं हिँडेर अस्पतालभित्र प्रवेश गरेकी थिइन्।

मृतकका आफन्तले अस्पतालमा त्यस समयमा वरिष्ठ चिकित्सक अनुपस्थित रहेको तथा त्यहाँ रहेका मेडिकल अफिसरले सामान्य जाँचपछि औषधि लेखिदिएको बताएका छन्। त्यसपछि अस्पतालमा कार्यरत एक नर्सले बिरामीलाई इन्जेक्सन लगाएको र इन्जेक्सन लगाएको केही समयमै उनको स्वास्थ्य अवस्था एकाएक बिग्रिएको परिवारको आरोप छ।

परिवारजनका अनुसार प्रमिला देवीले केहीबेरपछि बान्ता गरेकी थिइन् र त्यसको केही समयमै उनको मृत्यु भएको हो। साथै, केनुला लगाउँदा पनि सही प्रक्रिया नअपनाइएको र घटनासम्बन्धी सम्पूर्ण विवरण अस्पतालको सीसीटीभी फुटेजमा देखिएको दाबी परिवारजनले गरेका छन्।

घटनापछि आक्रोशित परिवारजन तथा स्थानीयवासीले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अस्पताल परिसर पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।
मृतक परिवारले अस्पताल प्रशासनले उपचारमा लापरवाही भएको स्वीकार गरिसकेको दाबी समेत गरेका छन्। यद्यपि घटनाको निष्पक्ष छानबिन, पोस्टमार्टम तथा चिकित्सकीय परीक्षण नगरी पर्सा प्रहरीको मिलेमतोमा ४ लाख रुपैयाँ क्षतिपूर्ति दिएर घटनालाई मिलापत्रमार्फत दबाउने प्रयास गरिएको आरोप परिवारजनले लगाएका छन्।

घटनापछि स्थानीयवासी तथा अधिकारकर्मीहरूले घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै, निजी अस्पतालहरूको सेवा प्रवाह, चिकित्सकीय उत्तरदायित्व तथा स्वास्थ्य क्षेत्रमा बढ्दो अव्यवस्था र गैरजिम्मेवारीप्रति समेत गम्भीर प्रश्न उठेको बताएका छन्।
यस घटनाबारे अस्पताल प्रशासन तथा प्रहरीको औपचारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM