२०८३ बैशाख ३१ गते बिहीबार

बिकन माध्यमिक विद्यालयको एसईईमा शतप्रतिशत नतिजा, विद्यालयमा खुशीयालीसहित उत्सव

अभिलाष गुप्ता
वीरगञ्ज, २९ वैशाख

वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ भगवतीटोलस्थित बिकन माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ। विद्यालयका सम्पूर्ण विद्यार्थीहरू उत्कृष्ट ग्रेडसहित उत्तीर्ण भएपछि विद्यालय परिवारमा खुशीयाली छाएको छ।

विद्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये २ जनाले A+ ग्रेड, १० जनाले A ग्रेड, ६ जनाले B+ ग्रेड तथा ३ जनाले B ग्रेड प्राप्त गरेका छन्। विद्यालयले समग्रमा उत्कृष्ट नतिजा ल्याउँदै शैक्षिक क्षेत्रमा आफ्नो गुणस्तरलाई पुनः प्रमाणित गरेको जनाएको छ।

उत्कृष्ट नतिजापछि विद्यालयका सञ्चालक प्रकाश उपाध्याय,मुना खनाल एवं प्रिन्सिपल जय दनुवार, शिक्षक मङ्गल सिंह लगायत सम्पूर्ण शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

विद्यालयले यस उपलब्धिलाई विशेष रूपमा मनाउन शिक्षकहरूबीच मिठाई वितरण गर्नुका साथै विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई चकलेट वितरण गरेर खुशीयाली साटासाट गरेको थियो। विद्यालय परिसरमा आयोजित उत्सवमय कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरू उत्साहित देखिएका थिए।

विद्यालय प्रशासनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको निरन्तर मार्गदर्शन तथा अभिभावकहरूको सहयोगकै कारण उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गरेको छ। साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहने जनाएको छ।

विद्यालय परिवारले एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई पुनः बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM