
वीरगंजमा अखाद्य मासु बिक्री गर्ने दुई व्यवसायीलाई जरिवाना, जफत मासु नष्ट
अभिलाष गुप्ता
वीरगंज, २९ वैशाख
वीरगंजका विभिन्न मासु पसलमा गरिएको संयुक्त अनुगमनका क्रममा अखाद्य रंग मिसाइएको तथा व्यवसाय दर्ता नगरी मासु बिक्री वितरण गरिएको पाइएको भन्दै दुई व्यवसायीलाई जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले मिति २०८३ वैशाख २९ गते वीरगंजका विभिन्न स्थानमा सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा वीरगंज महानगरपालिका–१२ स्थित “दिलसाद फ्रेस मिट हाउस” मा बिक्रीका लागि राखिएको मासुमा अखाद्य रंग प्रयोग गरिएको भेटिएको थियो। साथै पसलमा मूल्य सूचीसमेत नराखिएको पाइएपछि उक्त पसललाई उपभोक्ता हित संरक्षण सम्बन्धी प्रचलित कानुनअनुसार रु. २० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
त्यसैगरी वीरगंज महानगरपालिका–१३ निवासी अफरोज अंसारीले व्यवसाय नै दर्ता नगरी मासु बिक्री वितरण गरिरहेको भेटिएपछि उनलाई पनि रु. २० हजार जरिवाना गरिएको अनुगमन टोलीले जानकारी दिएको छ।
अनुगमनका क्रममा बरामद गरिएका अखाद्य तथा मापदण्डविपरीतका मासुहरू जफत गरी तत्काल नष्ट गरिएको थियो। टोलीका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका अखाद्य वस्तु बिक्री वितरण गर्नेलाई आगामी दिनमा अझ कडा कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि यस्ता अभियान अझ प्रभावकारी बनाइने जनाएको छ। साथै व्यवसायीहरूलाई कानुनअनुसार व्यवसाय दर्ता गर्न, स्वच्छता कायम राख्न तथा उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन आग्रह गरिएको छ।








