अभिलाष गुप्ता
वीरगञ्ज०३ जेठ

सरसफाइ दिवसको अन्तिम दिन आइतबार वीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा वीरगञ्जको मुख्य व्यापारिक तथा व्यस्त क्षेत्र घण्टाघर आसपासमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत डमकल प्रयोग गरी सडक तथा सार्वजनिक स्थानहरू धुने, फोहोर संकलन गर्ने तथा वातावरण स्वच्छ राख्ने अभियान सञ्चालन गरिएको थियो। सरसफाइ कार्यक्रममा स्थानीयवासी, समाजसेवी तथा सरोकारवाला निकायहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका सरसफाइ एवं हरियाली प्रमुख जयप्रकाश खेतानले सरसफाइ दिवस केवल एक दिनको औपचारिक कार्यक्रम नभई समाजमा स्वच्छता र हरियालीप्रति जनचेतना फैलाउने अभियान भएको बताउनुभयो।
उहाँले ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना भएको उद्देश्यअनुसार वीरगञ्ज सहरलाई सफा, हराभरा र वातावरणमैत्री बनाउन निरन्तर रूपमा वृक्षारोपण, संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
खेतानले वातावरण संरक्षण र स्वच्छ सहर निर्माणका लागि स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले सार्वजनिक स्थलको सरसफाइ र हरियाली प्रवर्द्धनले सहरको सौन्दर्य बढाउनुका साथै स्वस्थ वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।








