अभिलाष गुप्ता
बिरगंज ०५ जेष्ठ
नेपाल विश्व हिन्दु महासंघ, राष्ट्रीय समता पार्टी नेपाल, राष्ट्रीय एकता दल तथा अन्तर्राष्ट्रिय हिन्दू परिषद राष्ट्रिय बजरंग दल नेपाल ले हिन्दु नेता विजय प्रकाश निषाद को गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल बिना शर्त रिहाइको माग गरेका छन् ।
चारवटै संस्थाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा ले गरेको गिरफ्तारी अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारमाथिको हस्तक्षेप भएको बताएका हुन् । उनीहरूले हिन्दु धर्म, संस्कृति र आस्थाको पक्षमा आवाज उठाएकै कारण निषादलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।
विज्ञप्तिमा लोकतान्त्रिक मुलुकमा आफ्ना विचार र धारणा राख्न पाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गरिएको छ । राजनीतिक वा वैचारिक आस्थाका आधारमा व्यक्तिलाई दमन गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने भन्दै संस्थाहरूले सरकारलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
संस्थाहरूले निषादको गिरफ्तारीले धार्मिक तथा सामाजिक क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको दाबी गर्दै यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पुग्न सक्ने चेतावनी दिएका छन् । साथै उनीहरूले शान्तिपूर्ण ढंगले आफ्नो धारणा राख्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
प्रेस विज्ञप्तिमार्फत चारवटै संस्थाले विजय प्रकाश निषादलाई बिना कुनै शर्त तत्काल रिहा गर्न माग गर्दै अन्यथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
यस विषयमा प्रहरीले भने पक्राउको कारणबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन ।










