अभिलाष गुप्ता
वीरगञ्ज, ०५ जेठ

शिक्षा, सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्साले आगामी दिनमा विभिन्न महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानको हालै सम्पन्न बैठकले विद्यार्थी प्रोत्साहन, नेतृत्व विकास तथा सामाजिक चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै विविध योजनाहरू अघि बढाउने निर्णय गरेको हो।प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा सम्पन्न बैठकमा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई विशेष सम्मान गर्ने निर्णय गरिएको छ। शिक्षा क्षेत्रमा मेहनत र लगनशीलतासाथ सफलता हासिल गरेका विद्यार्थीलाई सम्मान गर्दा अन्य विद्यार्थीमा समेत सकारात्मक प्रेरणा मिल्ने विश्वास प्रतिष्ठानले लिएको जनाएको छ।
त्यसैगरी, जिल्लास्तरीय विद्यालयहरूमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरिएको छ। विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सार्वजनिक रूपमा आफ्नो विचार प्रस्तुत गर्ने कला विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागीहरूको धारणा रहेको थियो। प्रतियोगितामार्फत विद्यार्थीहरूमा सामाजिक, शैक्षिक तथा राष्ट्रिय विषयप्रति सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
बैठकले वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरू तथा आवश्यकता अनुसारका सार्वजनिक क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै विद्यालय तथा सार्वजनिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकमा प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्यायसहित सदस्यहरू युवराज खड्का, श्रवण बहादुर रायमाझी, अभिलाष गुप्ता, सुर्या नारायण बिक, सुबास सिंह, रितेश गुप्ता, प्रिया मिश्रा, बिना खतिवडा, शर्मा गोसाई, नन्दलाल यादव, हरेराम ठाकुर, संजय पटेल, नवराज भट्टराई, प्रभु प्रसाद रौनियार, पवन श्रेष्ठ, सुबास भट्टराई तथा सचिव लालबाबु सिंह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थित सदस्यहरूले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।
प्रतिष्ठानले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित, समाज उपयोगी तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सक्रिय भूमिका खेल्ने जनाएको छ।









