अभिलाष गुप्ता
वीरगञ्ज, ०७ जेठ

बाराको डुमरवाना क्षेत्रमा सञ्चालनमा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड ले पुनः दुधको परिमाणमा कटौती गर्दै उपभोक्तालाई ठगी गरेको आरोप सार्वजनिक भएको छ। बजारमा “५०० मिलिलिटर” उल्लेख गरी बिक्री वितरण भइरहेको डुमरवाना ब्रान्डको दुधको प्याकेटमा वास्तविक रूपमा मात्र ३६७ मिलिलिटर दुध भेटिएपछि सहकारीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको हो।
स्थानीय गिरीजीको चिया पसलमा बिक्रीका लागि राखिएको उक्त दुधको प्याकेट जोख्दा दाबी गरिएको परिमाणभन्दा १३३ मिलिलिटर कम दुध भेटिएको उपभोक्ताहरूले बताएका छन्। उपभोक्ताहरूका अनुसार यो सामान्य त्रुटि नभई योजनाबद्ध रूपमा उपभोक्ताको आर्थिक शोषण गर्ने कार्य हो।
यस घटनापछि स्थानीय उपभोक्ताले सहकारीमाथि कारबाहीको माग गर्दै सम्बन्धित नियमनकारी निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले दैनिक उपभोग्य वस्तुमा यस प्रकारको अनियमितता हुनु अत्यन्त गम्भीर विषय भएको बताएका छन्।
विडम्बनाको कुरा, डुमरवाना दुग्ध सहकारी यसअघि पनि यस्तै विवादमा तानिएको थियो। २०८० साल वैशाख ३० गते समेत आधा लिटर भनिएको दुधको प्याकेटमा कम परिमाण भेटिएको घटना सार्वजनिक भएको थियो। त्यसबेला समेत उपभोक्ताले विरोध जनाएका थिए। तर विगतको गल्तीबाट पाठ सिक्नुको सट्टा सहकारीले पुनः उही कार्य दोहोर्याएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
विशेषज्ञहरूका अनुसार “मिलिलिटर (mL)” आयतन नाप्ने एकाइ हो भने “किलो (kg)” तौल नाप्ने एकाइ हो। पानी, दूध वा जुसजस्ता तरल पदार्थको घनत्व पानीसँग मिल्दोजुल्दो हुने भएकाले सामान्य अवस्थामा ५०० मिलिलिटर दुधको तौल करिब ५०० ग्राम हुनुपर्ने बताइन्छ। त्यसैले ३६७ मिलिलिटर मात्र दुध भेटिनु स्पष्ट रूपमा उपभोक्तामाथिको अन्याय भएको उनीहरूको भनाइ छ।
उपभोक्ता अधिकारकर्मीहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य तथा आपूर्ति विभाग र स्थानीय प्रशासनले तत्काल बजार अनुगमन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। दैनिक उपभोग्य वस्तुमा यस्ता अनियमितता दोहोरिनु उपभोक्ताको स्वास्थ्य र विश्वास दुवैमाथिको गम्भीर प्रहार भएको उनीहरूको निष्कर्ष छ।









