रक्सौल। शहरको मुख्य मार्गस्थित प्राचीन सूर्य मन्दिर परिसरको पवित्र पोखरीबाट करिब ११ किलो तौलको विशाल कछुवा फेला परेपछि क्षेत्रमा चर्चा र कौतुहलको वातावरण बनेको छ। मन्दिर पुगेका श्रद्धालु तथा स्थानीयवासीहरूले यसलाई धार्मिक आस्था, शुभ संकेत तथा प्राकृतिक सन्तुलनसँग जोडेर हेरेका छन्।
सूर्य मन्दिरको जीर्णोद्धार तथा सौन्दर्यीकरणअन्तर्गत पोखरी सफाइ गर्ने क्रममा अचानक विशालकाय कछुवा देखिएपछि मानिसहरूको भीड लागेको थियो। धेरैले यसलाई भगवान विष्णुको कूर्म अवतारसँग जोड्दै शुभ संकेतका रूपमा व्याख्या गरेका छन्। धार्मिक मान्यताअनुसार कछुवा धैर्य, समृद्धि, स्थिरता तथा सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। मन्दिर परिसर वा पवित्र जलाशयमा कछुवाको उपस्थितिलाई सनातन परम्परामा विशेष महत्वका साथ हेरिन्छ।
सूर्य मन्दिर समितिका सचिव शम्भु प्रसाद चौरसिया, कोषाध्यक्ष गणेश अग्रवाल, राजु गुप्ता, गुड्डु खेतान तथा पप्पु गिरिले मन्दिरजस्तो आस्थाको केन्द्रमा यति ठूलो कछुवा भेटिनु आश्चर्य र श्रद्धा दुवैको विषय भएको बताएका छन्। उनीहरूले यसलाई प्रकृति र धार्मिक चेतनाको अद्भुत संगमका रूपमा लिन सकिने उल्लेख गरेका छन्।
वातावरणविद् तथा जानकारहरूका अनुसार कछुवाले जलस्रोत संरक्षण तथा जैविक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। यसले पानी सफा राख्न तथा जलीय पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन सहयोग पुर्याउने बताइएको छ। पोखरीमा कछुवाको उपस्थितिलाई जलाशयको प्राकृतिक वातावरण अझै सुरक्षित रहेको संकेतका रूपमा पनि हेरिएको छ।
मन्दिर समितिले श्रद्धालु तथा स्थानीयवासीलाई पोखरीमा पूजा सामग्री वा अन्य फोहोर वस्तु नफाल्न आग्रह गरेको छ। साथै सामाजिक तथा वातावरण संरक्षणकर्मीहरूले पोखरी, नदी तथा जलाशयलाई प्रदूषणमुक्त राख्न र जलीय जीवजन्तुको संरक्षणप्रति सचेत हुन अपिल गरेका छन्।
मिडिया प्रभारी रजनीश प्रियदर्शीका अनुसार सूर्य मन्दिरको पोखरीमा फेला परेको विशाल कछुवाले “जहाँ प्रकृति सुरक्षित हुन्छ, त्यहीँ आस्था र जीवनको सन्तुलन कायम रहन्छ” भन्ने सन्देश पुनः दिएको छ।










