मालपोत कार्यालय पर्सामा नक्कली रसिद प्रयोग गरी राजश्व छली गरेको आरोपमा एक लेखापढी व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्जस्थित शुभ लाभ लेखापढीका सञ्चालक ओमप्रकाश यादव रहेका छन्।

मालपोत कार्यालय पर्साका प्रमुख खेमराज खत्रीका अनुसार बुधबार, जेठ ६ गते यादवविरुद्ध ४ लाख ७२ हजार रुपैयाँ बराबरको राजश्व छली गरिएको भन्दै कार्यालयमा लिखित उजुरी परेको थियो। उजुरी प्राप्त भएपछि कार्यालयले आन्तरिक रूपमा छानबिन अघि बढाएको थियो।
प्रमुख खत्रीले दिएको जानकारी अनुसार छानबिनका क्रममा नक्कली रसिद प्रयोग गरी राजश्व छली गरिएको तथ्य फेला परेको थियो। “प्रारम्भिक अनुसन्धानमा नक्कली रसिदमार्फत राजश्व छली भएको देखिएपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित उजुरी दिएका हौं,” उनले बताए।
मालपोत कार्यालयको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले ओमप्रकाश यादवलाई पक्राउ गरेको जनाएको छ। उनीमाथि किर्ते रसिद काटी सरकारी राजश्व हिनामिना गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्ति भए नभएको विषयमा समेत अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।
यस घटनापछि मालपोत कार्यालय पर्साले सेवाग्राहीलाई आधिकारिक रसिद तथा भुक्तानी प्रक्रिया मात्र प्रयोग गर्न आग्रह गरेको छ। साथै कार्यालयले राजश्वसम्बन्धी अनियमितता रोक्न निगरानी कडा पारिने जनाएको छ।









