अभिलाष गुप्ता
वीरगञ्ज, ०८ जेठ

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत पर्साको श्रीर्सिया क्षेत्रमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकमार्फत आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।
कार्यक्रम तिलगंगा आँखा अस्पताल काठमाडौं र सामुदायिक आँखा केन्द्र वीरगञ्जको संयुक्त प्राविधिक सहयोगमा सम्पन्न भएको हो भने सशस्त्र प्रहरी बल नेपाल बिओपि श्रीर्सियाले कार्यक्रमको सहजीकरण गरेको थियो। शिविरमा एक दिने मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी परीक्षण तथा पहिचान कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका गणपति मोहन बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो। साथै सशस्त्र प्रहरी बल नेपाल बिओपि श्रीर्सियाका प्रहरी निरीक्षक समराज खड्का, मेडिकल संयोजक महेश सिंह धामी, छपकैया क्षेत्रका वरिष्ठ प्रहरी नेत्र राणा लगायतको विशेष उपस्थिति रहेको थियो।
शिविरमा कुल २११ जनाको आँखा परीक्षण गरिएकोमा ३४ जनामा मोतियाबिन्दु समस्या फेला परेको आयोजकले जनाएको छ। मोतियाबिन्दु देखिएका बिरामीहरूको तिलगंगा आँखा अस्पताल काठमाडौंमार्फत निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइएको छ। साथै अन्य सेवाग्राहीलाई आवश्यकताअनुसार आइड्रप तथा औषधि वितरण गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्। स्थानीय बासिन्दाले पनि निःशुल्क रूपमा विशेषज्ञ सेवा पाउँदा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम ग्रामीण तथा सिमान्तकृत समुदायका लागि निकै प्रभावकारी हुने बताएका थिए।









