२०८३ जेष्ठ ११ गते सोमबार

वीरगञ्जमा दुग्धजन्य उद्योगहरूको बजार अनुगमन, मापदण्ड पालना गर्न निर्देशन

अभिलाष गुप्ता
वीरगञ्ज, ०८ जेठ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्सा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा वीरगञ्जमा दुग्धजन्य उद्योगहरूको बजार अनुगमन गरिएको छ।

अनुगमन टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मनवास्थित डेरी फ्रेश उद्योग तथा वडा नं. १७ मा रहेको फ्रेस पुजा घ्यू प्रोडक्टमा निरीक्षण गरेको हो। अनुगमनका क्रममा उद्योगमा उत्पादन तथा बिक्री भइरहेका सामग्रीको लेबल, सरसफाइ, गुणस्तर तथा मापदण्ड सम्बन्धी विषयमा निरीक्षण गरिएको थियो।

अनुगमनमा सहभागी एक सदस्यका अनुसार फ्रेस पुजा घ्यू प्रोडक्टमा निरीक्षण गर्दा कुनै विशेष त्रुटि फेला परेको छैन। टोलीले दुग्धजन्य पदार्थको गुणस्तर तथा मापदण्डबारे जानकारी लिँदै उद्योगहरूलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन दिएको जनाएको छ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण टोली संयोजक जगत प्रकाश चौधरी, सदस्य श्रवण कुमार साह, वाणिज्य कार्यालयका मधुरेस प्रसाद साह, उपभोक्ताको तर्फबाट प्रकाश कुमार शाह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव एसके चौरसिया तथा पत्रकार बैजु झाको सहभागिता रहेको थियो।

उद्योग सञ्चालक राजाबाबु चौरसियाले फ्रेस पुजा घ्यू विशेषगरी पूजापाठमा प्रयोग हुने तथा डेरी फ्रेश उद्योगद्वारा उत्पादित घ्यू खान योग्य रहेको जानकारी दिए।

अनुगमनकर्ताले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताएका छन्। साथै उद्योग तथा व्यवसायीलाई खाद्य ऐन तथा नियमअनुसार उत्पादन तथा बिक्री वितरण गर्न आग्रह गरिएको निरीक्षण अधिकृत सुनिल चौरसियाले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM