अभिलाष गुप्ता
वीरगञ्ज, जेठ ९

“Start Early, Protect Vision for Life” भन्ने मूल नाराका साथ मे १८ देखि २४ सम्म विश्वभर मनाइँदै आएको ‘विश्व मायोपिया सचेतना सप्ताह २०२६’ को अवसरमा वीरगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। बालबालिकामा बढ्दो दृष्टिदोष ‘मायोपिया’ सम्बन्धी सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा र्याली, कोणसभा तथा विशेषज्ञद्वारा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
सचेतनामूलक र्याली वीरगञ्जको घण्टाघरबाट सुरु भई मकालु होटल, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी तथा स्थानीय सर्वसाधारणहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वीरगञ्ज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पताल को मुख्य आयोजना तथा नारायणी आँखा अस्पताल र सिद्धि आई केयर सेन्टर को सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञहरूले मायोपियाका कारण, यसको रोकथाम तथा समयमै उपचार नगर्दा हुन सक्ने जोखिमबारे जानकारी गराएका थिए।
कार्यक्रममा विशेषज्ञ वक्ताका रूपमा सहभागी डा. कृष्ण कान्त गुप्ता, डा. विपिन विष्ट तथा डा. आदित्य प्रसाद ले पछिल्लो समय बालबालिकामा अत्यधिक बढ्दै गएको स्क्रिन टाइम नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए।
विशेषज्ञहरूका अनुसार आधुनिक जीवनशैलीका कारण मोबाइल, ट्याबलेट तथा कम्प्युटरको अत्यधिक प्रयोग, लामो समयसम्म नजिकबाट पढ्ने वा हेर्ने बानी तथा बाहिरी खेलकुदमा कमी आउनुले बालबालिकामा मायोपियाको समस्या तीव्र रूपमा बढिरहेको छ। उनीहरूले समयमै आँखाको परीक्षण गराउने, चिकित्सकको सल्लाहअनुसार उचित पावरको चस्मा प्रयोग गर्ने तथा नियमित फलोअपमा बस्ने हो भने बालबालिकाको दृष्टिलाई थप कमजोर हुनबाट जोगाउन सकिने बताएका थिए।
कार्यक्रममा अभियानका संयोजक एवं मायोपिया विशेषज्ञ वसन्त पौडेल ले यस्ता सचेतनामूलक अभियानले अभिभावक तथा बालबालिका दुवैलाई जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै दृष्टि संरक्षणमा यसले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।
कार्यक्रमको समापन गर्दै विश्वराज गौतम ले र्याली तथा कोणसभालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण चिकित्सक टोली, सहयोगी संस्था तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले वीरगञ्ज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पताल ले उपचार सेवासँगै समुदायस्तरमा पुगेर आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।








