अभिलाष गुप्ता
वीरगञ्ज, ०९ जेठ

जेन जि पर्सा ले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ मा एक कार्यक्रम आयोजना गरी २८ सदस्यीय वडा समिति गठन गरेको छ। कार्यक्रममार्फत भागवत मण्डल लाई वडा नं. ३२ को इन्चार्जको जिम्मेवारी समेत प्रदान गरिएको छ।
जेन जिको मर्म, सिद्धान्त तथा सामाजिक सुशासनलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा नव नियुक्त इन्चार्ज भागवत मण्डलले युवाहरूलाई एकताबद्ध गर्दै समाजमा रहेका विकृति र विसंगतिविरुद्ध सक्रिय रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नयाँ सोच र सकारात्मक अभियानमार्फत समाजलाई विकासको दिशामा अघि बढाउने उद्घोष समेत गर्नुभयो।
कार्यक्रममा बोल्दै उहाँले जेन जिको उद्देश्य युवाहरूलाई जिम्मेवार, सचेत तथा सामाजिक परिवर्तनका लागि अग्रसर बनाउनु रहेको उल्लेख गर्दै आगामी दिनमा वडा स्तरमै विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
उक्त कार्यक्रममा महादेव प्रसाद कुर्मी, बिरेन्द्र कण्ठ लगायत जेन जि पर्सासँग आबद्ध युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी युवाहरूले संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउँदै सामाजिक उत्तरदायित्वका कार्यमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।








